५ माघ २०७७, सोमबार

एजेन्सी, ५ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीका रूपमा चिनिएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई हिरासतमा लिइएको छ । यसअघि ज्यान जाेगाउन जर्मनीमा रहेका उनी पाँच महिनापछि मस्को फर्केका थिए । तर मस्काे फर्कने बित्तिकै उनी रूसी प्रहरीकाे पञ्जामा परेका हुन् ।

यसअघि गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए । उतिखेर स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी  नाभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको हाे । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएकाे बताइएकाे छ । उनलाई स्वागत तथा अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा समर्थकहरूकाे भीड जम्मा भएकाे थियाे । याे देखेर त्यहाँका सुरक्षा अधिकारीहरूले उनको विमान अन्यत्रै ओराल्न लगाएका थिए ।

तर  नाभाल्नीलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले नाभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जवाफदेही बनाउन पनि आह्वान गरे । यसैगरी युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले पनि नाभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन् ।

रहस्मय ढंगले विष खुवाएपछि नाभाल्नीको उपचार जर्मनीमा भएको थियो । नाभेल्नीको ज्यान लिने कोसिसको पछाडि रुसी सरकारकै हात थियो भनेर बताइन्छ । पुनः उनलाइ हिरासतमा लिएपछि ज्यानमाथि खतरा बढेकाे बताइएकाे छ । प्रहरी हिरासतमा पुग्नुभन्दा केही मिनेटअघि मात्रै नाभाल्नीले मस्कोकाे शेमेन्येवो एयरपोर्टमा आफ्ना समर्थक र मिडियासँग भनेका थिए, ‘मलाई थाहा छ कि म सही छु । मलाई कुनै पनि कुराको डर छैन, मविरुद्ध लगाइएका सबै आपराधिक मुद्दा झुटा हुन् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV