४ माघ २०७७, आईतवार
  • सन्तोश पौडेल

खोटाङ, ४ माघ । भारी बर्षाका कारण घर भत्किएपछि बिचल्निमा परेका खोटाङस्थित साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडाका एक वृद्ध दम्पतीलाई स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर नयाँ घर बनाईदिएका छन्।

गत असार ३२ गते राति परेको भारी वर्षाका कारण घर भत्किएर बिचल्निमा परेका ७३ वर्षीय मानबहादुर खत्री र उहाँकी श्रीमती ७१ वर्षीय छलिमायाँ खत्रीलाई स्थानीय, आफन्त र शुभेच्छुककले चन्दा सङ्कलन गरेर दुईतले घर निर्माण गरिदिएका हुन् ।

स्थानीय अभियान्ता थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा चन्दा सङ्कलन अभियान सञ्चालन गरेर प्राकृतिक प्रकोप पीडित खत्री परिवारलाई भूकम्प प्रतिरोधात्मक नयाँ घर निर्माण गरिदिइएको बताएका छन् ।


चन्दा सङ्कलनका क्रममा खत्री परिवारले घर पुनःनिर्माणका लागि स्वदेश तथा विदेशबाट तीन लाख ६० हजार ८६२ रकम सङ्कलन गरेका थिए । घर निर्माणका लागि सङ्कलन गरिएको रकममध्ये तीन लाख २१ हजार ७०८ मै खत्री परिवारको नयाँ घर निर्माण सम्पन्न भएको स्थानीय अभियान्ता भट्टराईले बताउनुभयो ।

वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेका खत्री दम्पत्तीको घर भूकम्प पुनः निर्माण प्राधिकरणको शैली अनुसार निर्माण गरिदिएको बताएका छन् ।
एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ती मात्र बसिरहेका छन् । खत्री दम्पत्तीको दयनीय अवस्था देखेर आफन्तले घर पुनः निर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए ।

पहिरो पीडित दम्पत्तीको घर पुनः निर्माणका लागि साकेला गाउँपालिकाले पनि रु १५ हजार आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।

चन्दा सङ्कलन अभियानमा क्रमश यूकेमा रहनुभएकी समाजसेवी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर प्राकृतिक प्रकोप पीडित दम्पतीको घर निमार्णका लागि २० हजार, दाहाल बन्धुहरुले सञ्चालन गरेको अभियानबाट २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले १७ हजार १ सय ५५, दाहाल प्रतिष्ठान शाखा खोटाङले दश हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले आठ हजार सहयोग गरेका थिए ।

स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर नयाँ घर निर्माण गरिदिएपछि खत्री दम्पत्ती हर्षित मात्र भएका छैनन् उनिहरुको दैनिकी समेत फेरीएको छ ।

यस्तै, घर निर्माण सम्पन्न भएपछि खत्री दम्पतीको बाँकी रहेको रकम ३९ हजार १ सय ५४ रुपैयाँ सोही ठाउँका ब्रेन हेमरेज पीडित जीतेन्द्रप्रसाद खत्रीलाई उपचार गर्नका लागि सो रकम हस्तान्तरण गर्ने तयारी गरिएको अभियान्ता भट्टराईले न्युज ट्वान्टिफोलाई बताउनुभयो ।

ब्रेन हेमरेज पीडित खत्री बिगत पाँच महिनादेखि काठमाडौँस्थित मोडेल अस्पतालमा उपचार गराइरहेका छन् । कमजोर आर्थिक अवस्थाका पीडित खत्रीको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको परिवारश्रोतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV