भारतमा एकै दिन झण्डै २ लाख मानिसलाई दिइयो कोरोना खोप, तर खोप लगाएका केहीको स्वास्थ्य बिग्रियो



प्रकाशित मिति : Jan 17, 2021

एजेन्सी, ४ माघ । भारतमा कोरोना भाइरविरुद्धको खोप अभियान शनिबारबाट देशव्यापी चलाइएको छ । शनिबार एकै दिन करिब २ लाख स्वास्थ्यकर्मीहरुलाइ उक्त खोप दिइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार शनिबार पहिलो दिन ३ लाखलाई कोरोना खोप लगाउने लक्ष्य भए पनि १ लाख ९१ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाइ मात्र खोप लगाउन सकिएको बिबिसी हिन्दीले जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिनमा ३ हजार ३५१ सेसन (सत्र) हरू भए, जसमा दुई खालका भ्याक्सिन कोभाक्सिन र कोभिसिल्डको प्रयोग गरिएको थियो । भारतीय यस खोप अभियानलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानका रुपमा हेरिएको छ ।

तर खोप लगाएका केही मासिनमा भने साइड इफेक्ट देखिएको बताइएको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएकोमा तीमध्ये ५२ जनाको स्वास्थ्यमा समस्या आएको बताइएको छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार भारतको राजधानी नयाँ दिल्लीका ११ जिल्लामा गरी ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ५२ जनामा खोपको साइडइफेक्ट देखिएको बताइएको छ । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको बताइएको छ । तर देशभरिबाट साइड इफेक्ट हुने यकीन तथ्यांक भने उल्लेख छैन ।

भारतमा अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोप कोभिसिल्ड हो, जसलाई भारतमै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । यसैगरी भारत बायोटेकले विकास गरेको कोरोना खोप कोभ्याक्सिन हो । यी दुवै खोपलाई भारतमा आम प्रयोगका लागि अनुमति दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com