४ माघ २०७७, आईतवार

विराटनगर, ४ माघ । ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने न्यानो लुगा छैन। राति निद्रा नलाग्दा परालको घुरमा आगो बाल्छिन्। ताप्छिन्। फेरि केही छिन् निदाउँछिन्। उनको घरमा ढोका छैन। शीतलहर र हुस्सु घुस्छ।

उनका छिमेकी ६३ वर्षीया बेचनी सदाय चिसो भुइँमा च्यातिएको त्रिपाल ओछ्याउँछिन्। पातलो कम्बल ओढेर तीन नातिसहित रात जसोतसो कटाउँछिन्। चिसो बढेदेखि लहान नगरपालिका–२४ मानिकदह मुसहर बस्तीका स्थानीय राति निदाउन सकेका छैनन्। शीतलहरको कहरले विपन्न नागरिकलाई नराम्ररी सताएको छ। अधिकांशसँग न ओढ्ने छ न त ओछयाउने नै ! यहाँ मुसहरका ४७ घरपरिवार छन्।

‘छोराले चार वर्षअघि एउटा कम्बल किनेर दियो’, बेचनीले भनिन्, ‘मलगायत नातिहरू धर्मेन्द्र (११), राज (७) र राजु (६) त्यही ओढेर चिसो छल्ने गर्छौं।’

दलित जनकल्याण क्लबले गत वर्ष दिएको कम्बल घरमा आएका उनका छोरीज्वाइँले ओढ्छन्। नातिहरू भने चिसो छल्न मामाघर गएको बेचनीले सुनाइन्। ‘यहाँ घरमा पर्याप्त लुगा छैन। नातिहरू त्यही भएर मामाघर गएका छन्’, उनले भनिन्, ‘हामीलाई सरकारले केही सहयोग गरे हुन्थ्यो।’

अधिकांश समय घुर तापेर बिताउने गरेको रैबियाले बताइन्। उनले भनिन्, ‘घुर ताप्न पनि अर्काको जग्गाबाट पराल सोहोरेर ल्याउनुपर्छ। माग्न जाँदा दिँदैनन्। गाईवस्तुलाई खुवाउँछु भन्दै हप्काएर पठाउने गर्छन्।’ गरिब विपन्नलाई मद्दत गर्ने कोही नरहेको उनले दुखेसो पोखिन्।

‘हाम्रा छरछिमेक, आफन्त सबै गरिब छन्। जग्गाजमिन छैन। पढाइलेखाइ, जागिर केही छैन’, सोही ठाउँकी ६५ वर्षीया दनादेवी सदायले भनिन्, ‘हामीलाई सरकारसँग माग्ने बाटो मात्रै छ। यस्तो चिसोमा दुःख भोग्नुको सट्टा भगवान्ले आफ्नो घर लगे हुन्थ्योजस्तो लाग्छ।’ सहयोग गर्ने कुरा परै जाओस् भोट लिने नेताहरू हालखबर सोध्न पनि नआएको उनले सुनाइन्।

यहाँका गाउँबस्तीमा वृद्धवृद्धा र बालबालिकालाई चिसो छल्न समस्या भइरहेको छ। खाने, बस्नेदेखि ओढ्ने, ओछ्याउनेसम्मको समस्या छ। दैनिक मजदुरी गर्नेले काम गर्न पाएका छैनन्। सरकारले ओढ्ने कम्बल व्यवस्था गरिदियोस् भनेर विपन्न बस्तीका बासिन्दाको माग छ। शीतलहर पीडितका लागि नगरपालिकासँग राहत माग गरिएको वडाध्यक्ष कमलदेव यादवले बताए। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV