३ माघ २०७७, शनिबार

काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले माघ ९ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समिति, उपत्यका संघर्ष समिति, बागमती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंबैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते काठमाडौंमा बृहत तथा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

समितिका सह–संयोजक योगेशकुमार भट्टराईले जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जनाउँदै प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गर्नुभएको छ ।

साथै, जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अपील पनि गरिएको छ ।

उक्त जनप्रदर्शनलाई मध्येनजर गरी यही माघ ७ गते अपराह्न काठमाडौंको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयोजना गर्ने कार्यक्रम तय गरिएको पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV