३ माघ २०७७, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको बाटो हिँड्ने सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय सदस्य बनाएको आरोप लगाउनु भएको छ ।

शनिबार (आज) दाङको तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो आरोप लगाउनु भएको हो ।

‘भेट हुने जतिलाई केपी गुटको केन्द्रीय सदस्य बनाइदिने भएकाले विवेकशील मान्छे बालुवाटारको बाटो हिड्न छोडेका छन्’, नेता नेपालले भन्नुभयो, ‘ओलीले डमरु बजाउनेलाई केन्द्रीय सदस्य बनाए । ओलीको भजन गाउने र डमरु बजाउनेहरुले केन्द्रीय सदस्यको उपाधि पाएका छन् ।’

ओली समूहलाई विवेक गुमाएका, चेत नभएका, सिद्धान्त नभएका र नबुझेका स्वार्थीको झुण्ड भएको आरोपसमेत नेता नेपालले लगाउनुभयो । उहाँले राम्रा मान्छे सडकबाट नै टिपेर ओलीको झुण्डले केन्द्रीय सदस्य बनाइहाल्छ कि भन्ने डरले बालुवाटारको बाटो हिँड्न बन्द गरिसकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीले प्रतिनिधि सभालाई हत्या गर्ने प्रयास गरेको र अहिले त्यही कारणले प्रतिनिधि सभा छटपटाई रहेको बताउनुभयो । ‘प्रतिनिधिसभा मरेको छैन, केपीका कारणले छटपटाई रहेको छ’, उहाँले भन्नुभयो ।

उहाँले सन्की शासककै कारण अहिले ओली नाङ्गै हिँडेको र उनका भाइभारदार गजब छ भनेर शहर डुलाइरहेको बताउनुभयो । महाराजको नाङ्गै शहर डुलेको कथा सुनाउँदै नेपालले केपी ओलीलाई उक्त कथासँग तुलना गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV