३ माघ २०७७, शनिबार
  • बालबिक्रम कार्की,

रौतहट, ३ माघ । अत्याधिक चिसोको कारण रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ । रौतहटमा एकहप्तादेखि घाम नलाग्नाले चिसो ह्वात्तै बढेको हो ।

घाम नलाग्नुका साथै बाक्लो कुहिरो र शीतलहर पनि थपिएको छ । लगतारको शीतलहर र चिसोका कारण स्थानीयवासी अत्यावश्यक काम बाहेक घर बाहिर निस्केका छैनन् ।

अत्याधिक चिसोका कारण गरीब तथा विपन्न परिवारको दैनिकी निकै कष्टकर बनेको छ । गरिबीको कारण न्याना लुगाहरुको व्यवस्था गर्न नसक्दा उनीहरु परालको आगोको तापेर जाडोबाट बच्न कोशिस गरिरहेका छन् ।

जिल्लाभर रहेका विपन्न परिवारलाई यतिखेर चिसोबाट आफू र आफ्ना परिवारलाई कसरी जोगाउने भन्ने तनाव रहेको छ । गरिबीको कारण दुई छाक खान पनि मुस्किल परिरहेको अवस्थामा न्याना कपडाहरु किन्न सक्ने क्षमता आफूहरुमा नरहेकाले परालको आगोको सहायताले जाडो कटाउनु परेको उनीहरु बताउँछन् ।

जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ७ का धमौरामा रहेको डोम वस्तीका वासिन्दाहरु घरमा न्यानो ओड्ने ओछ्याउने नहुँदा पराल र सुकुल ओडेर सुत्ने गरेका दुःखेसो गर्छन् ।

चिसो तथा शीतलहरका कारण उनीहरुको घरभित्र शीत चुहिँदा झन सकस भइरहेको छ । चिसोको कारण न्याना कपडाहरु नहुँदा बालबालिकाहरुको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । चिसोका कारण उनीहरुमा रुघाखोकी, ज्वोरो, निमोनिया लगायतका समस्याहरु देखा परिरहेको छ ।

आफूहरु चिसोको मारमा परेपनि आफूहरुले नगरपालिकाबाट कुनै पनि किसिमको सहयोग तथा राहत नपाएको उनीहरुको दुःखेसो छ । चिसोबाट आफूहरुको ज्यानै जाने अवस्थामा पनि आफूहरुको बारेमा सोध्न अहिलेसम्म कोही पनि जनप्रतिनिधिहरु नआएको उनीहरुको गुनासो छ ।

कोरोनाको महामारीसँगै आएको चिसोको कहरबाट आफूहरुलाई कसले बचाउँला भन्ने आशा तथा जिज्ञासा उनीहरुमा रहेको छ । कोरोनाका कारण रोजगारी गुमाएर आर्थिक अभावमा जुधिरहेका उनीहरुलाई चिसोका कारण ज्यान गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले सताउन समेत थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV