३ माघ २०७७, शनिबार
  • हरिकृष्ण गौतम

म्याग्दी, ३ माघ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि म्याग्दीमा एक व्यक्तिको जागिर गएको छ । पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका अन्नपूर्ण गाउँपालिका–६, घारका शिव बरुवालको जागिर खोसिएको हो ।

४१ वर्षीय बरुवाल प्रभु बैंकको अन्नपूर्ण शाखा पोखरेबगरमा सुरक्षागार्डका रुपमा काम गर्नुहुन्थ्यो । उहाँले त्यस बैंकमा काम गर्न थालेको २० महिना पुगेको थियो भने त्यसैक्रममा गएको पुस पहिलो साता उहाँ कोरोना भाइरस (कोभिड–१९)को संक्रमित बन्नुभयो । पुस १ गते पिसिआर परीक्षणका लागि उहाँको स्वाब सङ्कलन गरियो र ५ गते आएको रिपोर्टमा पोजिटिभ आयो ।

सुरक्षागार्ड बरुवालले संक्रमण भएपछि सुरुको १ हप्ताको समयसम्म टाउको दुख्ने, उच्च ज्वरो आउने, खान मन नलाग्ने र स्वाद थाहा नपाउने जस्ता लक्षणहरु देखिएको बताउनुभयो । संक्रमण पुष्टि भएर घरमै आइसोलेसन बसेको भए पनि उहाँले टोल, छिमेकबाट राम्रो सहयोग पाउने अपेक्षा त गर्नुभयो, तर अपेक्षा भने उपेक्षामा परिणत भयो । टोल, छिमेकमा आफूलाई दुव्र्यवहार भएको उहाँको गुनासो छ । यससँगै कोरोना संक्रमण पुष्टि भएको ५-६ दिनमै अफिसबाट आफ्नो ठाउँमा अर्को मान्छे राखेको भन्ने जानकारी आएको उहाँले बताउनुभयो ।

बैंकमा सुरक्षागार्डको काम गर्ने क्रममा नै आफूलाई कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ । आफू संक्रमित भएर आइसोलेसनमा बसेको समयमा कोभिड अस्पतालका डाक्टर, नर्सहरु आएर हौसला दिएर मनोबल बढाउने काम गरेको अनुभव सुनाउँदै उहाँले अस्पतालबाट शारिरीक व्यायाम, बाफ लिने, योगा गर्ने र घाममा बस्न सिकाएको बताउनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा मेलेसियामा ४ वर्ष बिताएर फर्किनुभएका बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित ३ छोरी र २ छोरा छन् । उहाँलाई कम्पनीले मासिक रुपमा सुख्खा १८ हजार रुपैयाँ तलब मात्रै दिएको थियो । यता प्रभु बैंक अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले भने एक्सेलेन्ट सेक्युरिटी कम्पनी काठमाडौंले सुरक्षागार्डको नियुक्ति, तलब/भत्तालगायत सबै व्यवस्था गर्ने भएकाले यस विषयमा बैंकलाई केही पनि जानकारी नहुने बताउनुभयो ।

बरुवाल जस्तै कारोना संक्रमित भएर टोल, छिमेकमा गरेको दुव्र्यवहार घारकै लिला खत्रीले पनि भोग्नुभयो । उहाँले समेत कोरोना संक्रमण पुष्टि भएर घरमै बसेको समयमा टोल, छरछिमेकबाट संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेकाको घरमा जान हुन्न, उनीहरुसँग बोल्न हुँदैन भनेर सुनेको दुःखेसो पोख्नुभयो । कोरोनामुक्त भएका बरुवाल र खत्रीलाई अन्नपूर्ण गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल उद्घाटनको अवसरमा कोरोनामुक्त भएको प्रमाणपत्रसहित जनप्रतिनिधि, डाक्टर तथा स्थानीयले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV