२ माघ २०७७, शुक्रबार
  • शीतल भट्ट

कञ्चनपुर ०२ माघ । भारतीय एसएसबीको रबैया प्रवृत्तिका कारण कञ्चनपुरका किसान मर्कामा परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका- १० को सडकघाटस्थित पिलर नम्बर ३४ र ३५ को बिचको नेपाली भूमिमा लगाएको उखु र तोरी भारतीय एसएसबीले भित्र्याउन नदिएपछि किसान मर्कामा परेका हुन् ।

भारतीय एसएसबीले नेपाल-भारत सीमाबिचको बाटो ‘नोमेन्सलेण्ड’लाई प्रयोग गर्न नदिएपछि किसानले काटेको तोरी कुहिन लागेकाे छ भने उखु खेतमै सुक्न थालेकाे छ । यसले गर्दा  त्यहाँका किसान चिन्तित बनेका छन् ।

बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले भन्नुभयाे, ‘भारतीय एसएसबीका कारण हाम्रा किसानहरुले काटेको उखु मिलमा लैजान पाएका छैनन्, किसानको मेहनत र पसिना बालुवामा पानी हालेझैँ भएको छ । खेतबारीमा तोरी कुहिन थालेको छ भने काटेको उखु सुक्न थालेको छ। तर पनि एसएसबीले बाटो प्रयोग गर्न दिएको छैन ।’

यस्तै अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लवराज भट्ट भन्नुहुन्छ, ‘सिमानामा नो मेन्सलेण्डको एकिन नै नभएको बेला अहिलेसम्म नेपाल-भारत दुबै पक्षले प्रयोग गर्दै आएको बाटोलाई नो मेन्सलेण्ड हो भन्दै भारतीय पक्षले कृषि कामको लागि प्रयोग गर्न नदिने कुरा भारतीय हेपाहा प्रवृत्ति हो।’

उहाँले थप्नुभयाे, ‘अहिले भनिएको नो मेन्सलेण्ड अन्तिम होइन, यो हिजोदेखि दुबै पक्षले प्रयोग गरिआएको बाटो हो । सोही रुपमा स्थानीय किसानहरुले कृषि कार्यका लागि प्रयोग गर्न पाउनुपर्छ।’

यता, स्थानीय बुद्धिजीवी विवेक लम्साल भन्नुहुन्छ, ‘किसानले खेतीबाली भित्र्याउन नपाउनु यो कहाँसम्म भारतीय एसएसबीको दादागिरी हो !’

चोरशैलीमा आएर सीमा मिच्ने, कहिले नेपालीलाई थिच्ने र कहिले अन्नबाली भित्र्याउन नदिने जस्ता गतिविधि गरेर दिनहुँ भारतीय एसएसबीले दु:ख दिइरहेकाे उहाँकाे दुखेसाे छ । यसकाे अन्त्यकाे लागि उच्चस्तरीय कुटनैतिक पहल हुनुपर्ने उहाँकाे भनाइ छ ।

बेलौरी- १० सडकघाटका स्थानीय चक्र कठायतले यहाँका किसानहरुको समस्यालाई सरकारले बेवास्ता गरे स्थानीय उखुकिसान संघर्षमा उत्रिने चेतावनी दिनुभयाे । उहाँले भारतीय पक्षको बदमासीकाे पनि डटेर सामना गर्ने बताउनुभयाे ।

तर यस विषयमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले  नेपाल-भारत दुबै देशमा सुरक्षा निकायसँग कुराकानी भइरहेको बताउँदै समझदारीमा सहजीकरणको वातावरण सृजना हुने विश्वास व्यक्त गर्नुभयाे ।

न्यूज २४ संगको टेलिफोन कुराकानीमा उहाँले  भन्नुभयाे, ‘किसानले लगाएको उखु तथा अन्नबाली भित्र्याउन पाउनुपर्छ, हामी समन्वय गरिरहेका छौँ ।’

त्यस्तै, बेलौरी नगरपालिका- १० का कतिपय स्थानीयहरू भने  गत बुधबार एसएसबीले विवादित भूमि दशगजा क्षेत्रमा सुटुक्क अस्थायी क्याम्प राखेलगत्तै भुडाका स्थानीय र सुरक्षाकर्मीको पहलमा तत्काल हटाउन लगाएपछि भारतीय एसएसबीले त्यसको इगो साध्न उक्त जिकिर गरिरहेको बताउछन् ।

यद्यपि २३ जिल्लामा ७१ स्थानमा सीमा विवाद कायमै रहेसँगै कञ्चनपुरको सीमा विवाद पनि टुंगिएको छैन । कञ्चनपुरको ब्रह्मदेब देखि पुनर्वासको प्यारा ताल सम्म करिब १ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा सीमा विवाद कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV