२ माघ २०७७, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर, २ माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले सार्वभौम र स्वतन्त्र राष्ट्रमा बाह्य शक्तिको हस्तक्षेप हुने गरेको भन्दै नेपालका प्रधानमन्त्रीदेखि विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारलगायत नियुक्तिमा समेत भारतीय हस्तक्षेप हुनु खतराको संकेत भएको बताए ।

शुक्रबार ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा ‘नेपालको राजनीतिक आन्दोलन र नेमकिपा’ विषयक प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले देशमा राजनीतिक संकट हुने बेला भारतीय विस्तारवादले देशको सिमाना मिच्ने गरेको प्रवृत्तिप्रति सरकार सजग हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष रोहितले भने, ‘बेरोजगार युवाहरूले क्रान्ति गर्लान्, भन्ने डरले राणाकालमा गोर्खा भर्ती केन्द्र खोलेको थियो र गोर्खा भर्ती केन्द्रका सिपाहीहरूले देशको निम्ति नभई पैसाको लागि विदेशीको लागि लड्छ्न ।

त्यसैले गोर्खा भर्ती केन्द्र बन्द गर्नु आवश्यक छ । नेपाली युवाहरूलाई रोजगारीको नाममा विदेशमा सस्तो ज्यामीको रूपमा देश हित विपरीत पठाइरहेका छन् ।’

क्रान्ति सफल पार्न एक ऐतिहासिक युग पनि लाग्न सक्ने धारणा राख्दै उनेले क्रान्तिको लागि नयाँ पुस्तालाई तयारी गर्नुपर्ने बताए । उनले भने, ‘शैक्षिक प्रमाण–पत्रले मात्र मानिसको चरित्र र योग्यताको निर्धारण गर्न मिल्दैन । मुख्य कुरा विचार र व्यवहार हो ।’

त्यस्तै कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थापनाकालदेखि नेमकिपाले कहिल्यै पनि पदको निम्ति काम नगरेको चर्चा गर्दै जहिल्यै पनि नैतिकता र सिद्धान्तको राजनीति गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV