२ माघ २०७७, शुक्रबार

काठमाडौं, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई चलिरहेका बेला संवैधानिक इजलासमा केही बेर चर्काचर्की भएको छ ।

प्रतिनिधि सभा विघटन सम्बन्धी विषयमा राष्ट्रपति कार्यालयले पठाएको सकल फाइल रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताले माग गरेपछि केहीबेर होहल्ला भएको थियो । होहल्ला हुनेवित्तिकै बार एशोसिएनबाट गरिएको प्रत्यक्ष प्रसारणको अडियो काटिएको थियो ।

अदालतले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले विघटन गरेको पत्रको सकल फाइल मागेको थियो । अघिवक्ता रमण श्रेष्ठले राष्ट्रपति कार्यालयको सक्कल फाइल हेर्न पाउँ भन्दै माग गरेपछि इजलासमा हल्लाखल्ला मच्चिएको थियो ।

इजलासबाट फिर्ता गर्ने गरी आएको फाइल फर्काइएको होला भन्ने जवाफ आएपछि श्रेष्ठले फाइल हेर्न पाउनुपर्ने माग गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फाइल पुष २८ गते फर्काउने गरी आएको जवाफ दिए पनि माग गर्न छाडिएन । यता, सरकारले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिसको सक्कल प्रति सर्वोच्च अदालत परिसरमा विपक्षी वकिलले सार्वजनिक गरेका छन् ।

जसमा विभिन्न कामका लागि दुई तिहाई बहुमतको सरकार आवश्यक भएकाले प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको उल्लेख छ ।

रिट निवेदक पक्षले मन्त्रिपरिषद् कार्यालयले सक्कल प्रति सर्वोच्च अदालतबाट फिर्ता लगेर नफर्काएकोमा इजलास समक्ष उठाएका छन् । पुष २३ गते प्रधानममन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सक्कल प्रति फिर्ता लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV