२ माघ २०७७, शुक्रबार

काठमाडौं, २ माघ । राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपीएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृति राष्ट्रिय -याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१-१८, २१-१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अव रत्नले फाईनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्स संग प्रतिस्पर्धा गर्नेछन् ।

प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१-११, २१-१७ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन् । यस्तै आर्मीका प्रफुलले एपीएफका गौतम कठायतलाई ९-२१, २१-१६, २१-१३ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका दिपेश धामी संगको भेट पक्का गरेका हुन् । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१-१३, २१-९ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला उच्च १२ तर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ्ग एपिएफकी शोभा गौचनलाई २१-६, २१-१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् ।

उनले अव सेमिफाईनलमा जेशिका गुरुङ्गको सामना गर्नेछिन् । एपीएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१(९, २१(१७ ले पन्छाईन् । यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१-१७, २१-७ ले पराजित गर्दै आर्मीकै अमिता गिरी संगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनुमाया राईलाई २१-१६, २१-९ ले पराजित गरिन् ।

गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको उच्च १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका बिशाल तामाङ्गलाई २१।१३, २१।१५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पुर्णबहादुर थापालाई २१-१३, २२-२०, कैलालीका देवराज रानाले पाँचथरका एशिया जबेगुलाई २१-११, २३-२१ले, कञ्चनपुरका बिवेक चौधरीले सेनाका गोकुल जोरालाई २१-१४, २०-२२, २१-१४ले, सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१-१५, ११-२१, २१-७ले, एपिएफका ईन्द्रबहादुर महताले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१-१७, २१-८ले, सेनाका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१-१५, २१-१२ले तथा सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई २१-१६, २१-१५ ले पराजित गरे ।

महिला तर्फ खोटङ्गकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । रेनुकाले पाल्पाकी सुष्मा बुद्धलाई २१-१४, २१-१४, समिक्षाले कञ्चनपुरकी बिणा बिष्टलाई २१-१८, २१-१९ले, रोजले एपिएफकी निकिता लामालाई २१-१०, २१-५ले तथा अस्मीताले पाल्पाकी जानुका कनौजलाई २२-२०, २१-१८ ले पराजित गरे ।

यस्तै झपाकी अंजना राईले कैलालीकी प्रियान्सी बमलाई २१-१४, २१-७ले, एपीएफकी प्रेक्षा राईले कैलालीकी ऐलिना तिरवालाई २१-१५, १५-२१, २१-१३ले तथा खोटाङ्गकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई १८-२१, १८-२१, २१-८ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।

यस्तै अर्की खेलाडी कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटरफाईनल प्रवेश गरेको डेपुटी रेफ्रि अनुप शाक्यले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV