२ माघ २०७७, शुक्रबार
  • रिया भण्डारी

नयाँ दिल्ली, २ माघ । नेपाल भारतबीचको बहुप्रतीक्षित वार्ता सुरु भएको छ । भारत भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी एस जयशंकरबीच नयाँ दिल्लीको हैदरवाद हाउमा वार्ता सुरु भएको हो ।

भेटमा द्धिपक्षीय सम्बन्ध, सीमा विवाद , इपीजीको प्रतिवेदन र कोरोनाको खोपको विषयमा दुई देशका परराष्ट्रमन्त्रीबीच वार्ता हुने अपेक्षा गरिएको छ ।

उहाँहरु बीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुनेछ । यो बैठक लामो समयदेखि हुन सकेको थिएन । बैठकमा छलफलका लागि दुवै देशले लगभग तीन दर्जना बढी एजेण्डा तय गरेको बताइएको छ ।

बैठकमा नेपाली पक्षले सीमा समस्या, इपीजीको प्रतिवेदन , व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयलाई महत्व दिने बताइएको छ ।

विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्तिको उपस्थिति रहेको छ ।

आयोगको बैठक सम्पन्न भएपछि मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा मन्त्री ज्ञवालीले रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च नेताहरुसंग पनि छलफल र परामर्श गर्ने बताइएको छ । भ्रमण पूरा गरी भोलि अपरान्ह परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV