१ माघ २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, १ माघ । छैठौं राष्ट्रिय योग दिवस रौतहटमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्लाका गौर, चन्द्रपुर लगायत विभिन्न स्थानिय तहहरुमा योग सम्बन्धि सचेतना जनाउँदै योग दिवस मनाइएको हो ।

जिल्लाको चन्द्रपुर नगरपालिकामा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र रौतहटको आयोजनामा प्रभातफेरी गरी जनज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा योग गरेर राष्ट्रिय योग दिवस मनाइएको छ ।

‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ नगरका विभिन्न स्थानहरुमा परिक्रमा गरेर जनज्योति माविको प्राङ्गणमा प्रमुख जिल्ला अधिकारी तथा सामाजिक व्यक्तित्वहरुले बालबालिकाहरुसँग योग अभ्यास गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले मानव सभ्यतालाई चुनौती दिएको कोरोना भाइरससँग राज्यले ठूलो लगानी गरेर लडिरहेको अवस्थामा योगले रोग प्रतिरोधात्मक क्षमताको विकास गरेर कोरोनालाई परास्त गर्न सकिने भन्दै सबैलाई योग गर्न सुझाए ।

उनले आलस्य जीवनशैलीका कारण सर्ने भन्दा पनि नसर्ने रोगको प्रकोप बढ्दै गइरहेकाले नियमित योग अभ्यासले त्यस्ता रोगको जोखिमलाई पनि कम गर्ने भएकाले योग सबै तह र उमेरका व्यक्तिहरुले नियमित गर्नुपर्नेमा जोड दिए ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख शिव शंकर यादवले कोरोना महामारीको प्रकोपसँगै योग र आयुर्वेदको महत्व पनि बढेर गएको जनाउँदै नियमित योग अभ्यास र उचित आहार विहारले मानिसलाई स्वस्थ्य राख्न मद्दत गर्ने भएकाले यसलाई राज्य अभियानको रुपमा लैजाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका योगगुरु सुनिता पौडेलले सहभागीहरुलाई योग अभ्यास गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV