१ माघ २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, १ माघ । कोरोना संक्रमितहरुको उपचारमा अनवरत रुपमा खटिदै आएका दुई जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिकामा अवस्थित चन्द्रनिगाहपुर अस्पतालका जनस्वाथ्य निरीक्षक मात्रिका चालिसे र स्वास्थ्य सहायक बलिराम साह सम्मानित भएका हुन् ।

उनीहरुलाई साथी शिक्षा सहकारी संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारण सभाको अवसर पारेर सम्मानित गरेको हो ।

चालिसे र साहले क्वारेन्टाइन व्यवस्थापन, स्वाव संकलन, कन्ट्याक्ट ट्रेसिङ्ग तथा चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा जिल्ला उत्तरी भेगमा रहेका चन्द्रपुर, गुजरा, गढीमाई एवं वृन्दावन नगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा अग्रभागमा रहेर अहोरात्र कोरोना संक्रमितहरुको उपचारमा खटिएकाले उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका महासचिव दीपक रेग्मीले बताए ।

संस्थाले प्रत्येक वर्ष समाजमा अमूल्य योगदान दिदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । यसैबीच यो वर्ष कोरोनासँग अग्रभागमा लड्ने स्वास्थ्कर्मीलाई सम्मान गरिएको जनाउँदै यो सम्मान सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा समर्पित गरेको बताए ।

उनीहरुलाई संस्थाका अध्यक्ष रामकुमार भट्टराई, विकास तथा प्रविधि समितिकी पूर्व सभापति कल्याणी खड्का एवं चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले संयुक्त रुपमा माला, दौसल्ला र प्रमाण–पत्रद्धारा सम्मान गरेका थिए ।

सम्मानित व्यक्तित्व चालिसेले सुरुवाती दिनमा क्वारेन्टाइन र आइसोलेसनमा काम गरेको भन्दै छिमेकीहरुले घरजाने बाटो अवरुद्ध गरेको सम्झदै अहिले सबैले सम्मान तथा आफूहरुको कामको कदर गरेको देख्दा निकै खुसी लागेको बताए ।

उनले राज्यले उपलब्ध गराएको सीमित श्रोत र साधनहरुको बावजुत पनि आफ्नो ज्यान जोखिममा राखेर काम गर्दै आएका स्वास्थ्यकर्मीको योगदानलाई तीनै तहको सरकारले अवमूल्यन गरेपनि जनताले भने उच्च मूल्याङकन गरेकोमा निकै खुसी लागेको भाव व्यक्त गरे ।

उनले कोरोनासँगको युद्ध अझैँ समाप्त नभएको भन्दै आफूहरु भविष्यमा पनि यस विरुद्ध अझ शसक्त भएर लड्न तयार रहेको भन्दै तीनै तहको सरकारले पनि स्वास्थ्यकर्मीहरुको हौसला अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV