लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेकै आवधिक निर्वाचन : महेश बस्नेत
- तारा आचार्य,
विराटनगर, १ माघ । नेकपाका नेता एवम् पूर्व मन्त्री महेश बस्नेतले लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेकै आवधिक निर्वाचन भएकाले केही नेताहरु उक्त निर्वाचनबाट भाग्न खोजेको र प्रायोजित समाचार सम्प्रेषण गरेर भ्रम छर्नमा व्यस्त रहेको बताएका छन् ।
पछिल्लो राजनैतिक घटनाक्रम बारे जानकारी दिन राष्ट्रिय युवा संघ मोरङले विराटनगरमा आयोजना गरेको युवाहरुको माझ पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले केही मिडियाले प्रायोजित रुपमा भ्रम छर्ने गरेकाले सूचना प्रविधिको प्रयोग गरी भ्रम चिर्न साइबर सेना बनाइएको बताए ।
उनले जनताको म्याण्डेट लिन जाने कुरा कुनै पनि हालतमा प्रतिगमन नभएको बताए । उनले निर्वाचन आयोगमा गएर निर्वाचन रोक्न लगाउनु भन्द निर्वाचनमा गएर लडेर देखाउन चेतावनी दिएका छन् ।
उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई सुनियोजित ढगंले ध्वस्त पार्न लागेको अहिलेको घटना क्रमले देखाएको धारणा राखे । नेता बस्नेतले लोकतन्त्रमा विरोध गर्न पाउनु मौलिक अधिकार भएपनि आफ्ना नेताहरुलाई भौतिक रुपमा आक्रमणको प्रयास गरिए भौतिक रुपमा नै जवाफ दिन युवा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
उनले छुटेर गएको दाहाल–नेपाल समूहलाई माउसुलीको पुच्चरको संज्ञा दिदै पुच्छर आफै पलाउने तर कहिल्यै नजोडिने बताए । उनले नेकपा एमालेको मन मुटुसँग जोडिएको सूर्य चिन्हको आडमा प्रचण्डले आफूहरुमाथि प्रहार गरेको आरोप समेत लगाए ।