मन्थलीका नगरप्रमुखको भनाइप्रति पत्रकारहरुको पेशागत संघ संगठनको आपत्ति



प्रकाशित मिति : Jan 14, 2021
  • युवराज श्रेष्ठ,

रामेछाप, १ माघ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरसभामा बोलेका विषयलाई लिएर नेपाल पत्रकार महासंघलगायतका पत्रकारहरुका विभिन्न पेशागत संघ संगठनहरुले आपत्ति जनाएका छन् ।

गत पुष २८ गते मंगलबार मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख बस्नेतले आफ्ना धाराणा राख्ने क्रममा नगरसभामा पत्रकारहरुको अनुपस्थितिको विषयलाई लिएर बोलेका असान्धर्भिक, अनैतिक र अशोभनीय भएको भन्दै उनको सार्वजनिक भनाइप्रति आपत्ति जनाएका हुन् ।

विहीबार नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले छुटा–छुट्टै तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), सञ्चारिका समूह रामेछापलगायतले संयुक्त रुपमा विज्ञप्ति निकालेर नगर प्रमुख बस्नेतलाई यस्तो चुनौती दिएका हुन् ।

उनीहरुले जारी गरेका विज्ञप्तीमा नगर प्रमुखले नगरसभाको कार्यक्रममा बोल्दै ‘पत्रकारहरुलाई खान र लिन पाउने भए लाइन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ?’ भन्दै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारिता पेशाप्रति अपमान गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘जिल्लामा पत्रकारिता गरिरहेका कुनैपनि व्यक्ति लाइन लागेर पैसा लिन या खान मन्थली नगरपालिकामा नगएको स्पष्ट पार्दै यदि कोही पत्रकार खान र लिनका लागि नगरपालिकामा गएको भए तीनका नाम सार्वजनिक गर्न चुनौती दिन चाहन्छौं छ ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘नगरसभामा पत्रकारहरुलाई नबोलाउने तर, लाजै नमानी आएनन् भनेर आफ्नो हैसियत र सार्वजनिक पदको गरिमालाई समेत विर्सेर पत्रकार र पत्रकारिता पेसाप्रति अपमान गर्ने नगर प्रमुखको उक्त भनाइप्रति घोर भत्र्सना गर्दछांै ।’

पत्रकारहरु पेशागत मर्यादा र तोकिएको आचारसंहिता बमोजिम आफ्नो धर्म निर्वाह गर्ने कुरामा सदैब सचेत र सतर्क रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘कुनैपनि राजनीतिक दल या जनप्रतिनिधिलाई आँच पुग्ने गरी यस अघि कुनै कार्य नगरेको हाम्रो दाबी छ । पेशागत मर्यादामा रही कलम चलाउने पत्रकारहरुलाई जे मनमा लाग्छ त्यहि बोल्ने र तल्लो स्तरमा झरेर गालीगलौज गर्ने अधिकार जनप्रतिनिधिलगाएत कोही कसैलाई नभएको कुरा समेत स्मरण गराउन चाहन्छौं ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com