परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा, आज प्रवासी नेपालीसंग भेट, भोलि दिनभर औपचारिक कार्यक्रममा व्यस्त



प्रकाशित मिति : Jan 14, 2021
  • रिया भण्डारी,

नयाँ दिल्ली, १ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको दुई दिने औपचारिक भ्रमणको क्रममा नयाँ दिल्ली आइपुग्नु भएको छ ।नेपाल–भारतबीच हुने छैटौं संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ भारत भ्रमणमा निस्कनु भएको हो ।

भारत भ्रमणको क्रममा परराष्ट्रमन्त्री ज्ञवाली दिउँसो १ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनु भएको थियो । उहाँलाई विमानस्थलमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

नेपाल र भारतबीच लामो समय रहेको संवादहीन अवस्था अर्थात दुई देशबीचको सम्बन्धमा जमेको हिउँको ढिक्का फुटाउन परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

मन्त्री ज्ञवालीसंग भ्रमणका रहेको परराष्ट्र मन्त्रालयको कार्यदल एक सदस्यका अनुसार भ्रमणको क्रममा नेपाल–भारतबीचको सीमा विवादका विषयमा छलफल हुने छ । भ्रमणका क्रममा भारतसँग नेपालले खरिद गर्न लागेको कोरोनाविरुद्धको खोपका बारेमा समेत प्राथमिकतासाथ कुरा हुने कार्यदलका एक सदस्यको भनाइ छ ।

दुई देशबीच हुने वार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि तथा वैदेशिक लगानी, ऊर्जालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणको पहिलो दिन दिल्लीमा रहेका प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्नु हुने बताइएको छ । भोलि शुक्रबारदेखि भने परराष्ट्रमन्त्री ज्ञवाली दिनभर भ्रमणको औपचारिक कार्यक्रममा व्यस्त रहनु हुने छ ।

शुक्रबार बिहान एघार बजे ज्ञवालीले आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेट गर्नु हुने कार्यक्रम रहेको छ । त्यसपछि सोही भवनमा साढे एघार बजे नेपाल–भारत संयुक्त अयोगको छैटौं बैठकमा सहभागी बन्नु हुने छ ।

औपचारिकरुपमा भ्रमणका धेरै कार्यक्रम सार्वजनिक नगरिए पनि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत भेटघाट गर्नु हुने कार्यक्रम रहेको बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारीहरू समेत सहभागिता रहेको छ ।

नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकौँदेखि भारतीय अतिक्रमणमा परेको तर यसबारे ठोस समाधानका लागि भारत अझै पनि तयार नरहेको अवस्था प्रष्ट छ ।

भारतले मिचेको तिनै भूभागलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । तर मन्त्री ज्ञवालीको यो भ्रमणको दौरान हुने वार्तामा यी विषयहरुले प्रवेश पाउने निश्चित देखिएको छ । (तस्वीर : रिया भण्डारी)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com