परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, सीमा विवाद र कोरोना खोप प्राथमिकतामा



प्रकाशित मिति : Jan 14, 2021

काठमाडाैँ, १ माघ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज तीन दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । नेपाल-भारतबीच हुने छैठौं संयुक्त आयोगकाे बैठकमा सहभागी हुन उहाँ भारत जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीकाे भ्रमणमा नेपाल-भारतबीचकाे सीमा विवादका विषयमा छलफल हुने बताइएकाे छ । साथै भारतसँग नेपालले खरिद गर्न लागेकाे कोरोनाविरुद्धको खोपका बारेमा समेत प्राथमिकतासाथ कुरा हुने  जनाइएको छ । साे क्रममा नेपाल-भारतबिचकाे द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि तथा वैदेशिक लगानी, ऊर्जालगायतका विषयमा पनि छलफल हुने मन्त्रालय स्राेतले जनाएकाे छ ।

परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वकाे भ्रमण टाेलीमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारीहरू समेत सहभागी हुने जनाइएको छ ।

नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकाैँदेखि भारतीय अतिक्रमणमा परेकाे तर यसबारे ठाेस समाधानका लागि भारत अझै पनि तयार नरहेकाे बताइन्छ । नेपालले नयाँ नक्सा जारी गर्दै उक्त भूभागहरू समेटेपछि भारतसँग सम्बन्ध चिसिएकाे थियाे । तर पछिल्लाे समय सम्बन्ध सुधारका प्रयासहरू भए पनि सीमा विवादबारे खुलेर बहस गर्न भारत अझै अनिच्छुक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com