कोरोना विरुद्धको रुसी खोप नेपाल ल्याउने तयारी छैन : सरकार (भिडियो)
- रिया भण्डारी,
काठमाडौं, २९ पुष । बुधबार रुसको विदेश मन्त्रालयलाई उदृत गर्दै रोयटर्स समाचार एजेन्सीले रुसले विकास गरेको स्पुतनिक भी खोप २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने समाचार बाहिरियो ।
तर, नेपाल सरकारको कुनै पनि निकायलाई यसबारे जानकारी छैन । रुसको खोप बारे स्वास्थ्य मन्त्रालयसंग छलफल भएपनि यो खोप नेपाल ल्याउने बारे कुरा अघि बढेको छैन ।
रुसले बिकास गरेको खोपको विश्वसनीयता कम भएको कारण पनि नेपालका खोप बिज्ञहरुले यो खोप ल्याउन सुझाएका छैनन् ।
रुसी अधिकारीहरूले जस्तो दाबी गरेको भएपनि रसियन खोप स्पुतनिक भीमा संसारभरका बैज्ञानिकहरुले प्रश्न उठाएका छन् । तेस्रो चरणको परिक्षणको पर्याप्त विवरण सार्बजनिक नभएको र पीआर रिभ्यू नभएका कारण संसारमा रसियन खोप स्पुतनिक भीको विश्वसनीयतामा प्रश्न उठेको छ ।
रुसी अधिकारीहरूले यस खोपबाट जन्मिने एन्टीबडी रेस्पोन्स दुई वर्षसम्म कायम रहने अपेक्षा गरेका छन् तर, त्यसलाई पुष्टि गर्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनन् ।
तेस्रो चरणको व्यापक परीक्षण विना नै ट्रायल पूरा गर्न ज्यादै हतार गरिएकाले विश्व स्वास्थ्य संगठनले समेत यो खोपको बिषयमा प्रश्न उठाएको थियो ।
तर अहिले यो खोप २५ मिलियन डोज नेपाल आउने भन्दै अन्तर्राष्ट्रिय मिडियामा समाचार देखेपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु नै चकित परेका छन् ।
स्वास्थ्य मन्त्रालयले रसियन खोप नेपाल ल्याउन कुनै काम अघि नबढेको जानकारी न्यूज २४ टेलिभिजनलाई दिएको छ । खोप माहाशाखाका प्रमुख डा झलक गौतमले यो खोप नेपाल ल्याउने बारे जानकारी नभएको बताएका छन् ।
त्यसो त नेपालका लागी उपयुक्त कोरोना बिरुद्धको खोप अक्सफोर्ड र एक्स्ट्राजेन्काले निर्माण गरेको नै हुने बिज्ञले सुझाएका छन् । रुसले बिकास गरेको खोपको विश्वसनीयता कम भएको र २ डोज छुटा–छुटै खोप दिनुपर्ने भएका कारण पनि अन्य देशहरुले पनि यो खोप प्रयोग गर्न हच्किएका छन् ।
यस्तोमा नेपालमा कुनै निजि कम्पनीले यो खोप ल्याउन लागिएको बुझिएको छ । खोप सरकारले ल्याए पनि निजि कम्पनीले ल्याए पनि औषधि व्यवस्था बिभागले क्लिनिकल ट्रायल गरेर मात्र लाइसेनिङ हुन्छ ।
खोप ल्याउन हतार गरेर कम प्रभावकारिताको खोप ल्याउनु भन्दा बरु ढिलो आए पनि विश्वसनीयता र गुणस्तरीय खोप ल्याउनु पर्ने बिज्ञको सुझाब छ ।