परराष्ट्रमन्त्री ज्ञवाली दुई दिने भ्रमणका लागि भारत जाँदै, उच्चस्तरीय राजनीतिक भेटघाटको सम्भावना (भिडियो)
काठमाडौं, २९ पुष । नेपालमा राजनीतिक संकट उत्पन्न भएपछि नेपाल–भारतको उच्चस्तरीय भ्रमण हुँदैछ । प्रतिनिधिसभा विघटनपछि वर्तमान सरकार कामचलाउ भएको प्रतिक्रियाहरु आइरहेका बेला हुन लागेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण विवाद रहित नबन्ने संकेत देखा परेको छ ।
एकातिर भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन वार्ताको एजेण्डा तयार गरेको सरकारका लागि दीर्घकालीन सम्झौताहरु नगर्न देशभित्रैबाट दबाब सुरु भएको छ । उता, भारतले पनि यही मौका छोपेर सीमा विवादमा खासै महत्व नदिने संकेतहरु दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतको राजधानी नयाँदिल्लीमा दुई दिन रहनेछन् । परराष्ट्रमन्त्रीस्तरीय छैठौं संयुक्त आयोगको बैठकमा नेपालले केही महत्वपूर्ण एजेण्डाहरु तय गरेको छ ।
नेपालमा प्रतिनिधिसभा विघटनसँगै भारतले यो बैठकमा खासै चासो दिएको थिएन । तर, नेपालले निरन्तर दबाब दिएपछि भारत बिहीबारका लागि आयोगको बैठक बस्न तयार बनेको हो ।
त्यही शिलशिलामा नेपालले आफ्ना एजेण्डाहरु तय गरेपनि भारतले खासै महत्व नदिने संकेत गरेको जानकारहरु बताउँछन् ।
नेपालले तय गरेका एजेण्डाहरु…
- –नेपाल–भारत द्विपक्षीय विविध आयामहरू सहित व्यापार
- –उर्जा
- –सीमा समस्या
- –पारवहन
- –कोभिड–१९ सहकार्य
- –पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन
मुलभूत रुपमा सरकारले निर्धारण गरेका एजेण्डाहरु पुरानै रहेका छन् । यस पटक नेपाल–भारतबीच देखिएको सीमा समस्या जटिल बनेको छ । यवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ बनेकाले यो विषयमा सामान्य छलफल गरेपनि खासै ठोस निष्कर्ष निकाल्ने भारतीय पक्षको सन्देश विभिन्न माध्यामहरुबाट आउन थालेको छ ।
यता, नेपाल भित्रै पनि परराष्ट्रमन्त्रीस्तरीय भ्रमणमा दीर्घकालीन महत्व राख्ने विषयहरुले प्रवेश नपाओस् भन्दै खबरदारी सुरु भएको छ ।
बुधबार मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू डा. सोमलाल सुवेदी, लीलामणि पौड्याल, पूर्व राजदूतहरु सहित १५ जना नागरिक अगुवाहरूले परराष्ट्रमन्त्रीको भारत भ्रमण आवश्यक नरहेको बताएका छन् ।
भ्रमण नै तय भएको अवस्थामा उनीहरुले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता नगर्न र वार्तामा सचेत रहन सुझाएका छन् ।
ज्ञवाली कामचलाउ सरकारको मन्त्रीको हैसियतमा भारत जान लागेकाले उनले कुनै पनि त्यस्ता सम्झौतामा हस्ताक्षर गर्न नहुने उनीहरूको जिकिर छ ।
परराष्ट्रमन्त्रीको कार्यक्रम
परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । त्यसपछि उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उनी शुक्रबार दिल्लीमै रहने कार्यक्रम छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको छ ।
बिहीबार अपरान्हसम्ममा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता निश्चित हुनेछ । त्यसका अलावा अन्य राजनीतिक भेटघाटको पनि तयारी रहेको दूतावासले जनाएको छ ।