२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । नेपाली समाजमा आउने चाडपर्व एवं संस्कृतिको आ–आफ्नै विशिष्ट शैली र परम्परा रहदै आएको छ । माघ १ गते अर्थात मकर संक्रान्ति बिभिन्न जातजाति र भाषाभाषीले आ–आफ्नै संस्कृति अनुरुप मनाउने तयारी गरिरहँदा अहिले घिउ चाकु, तरुल र कन्दमुलले बजार सजिएका छन् ।

मकर संक्रान्तिको पूर्व सन्ध्यामा बजार घिउ, चाकु, तरुल, सख्खरखण्डा, पिडालु, स्कुसको जरा, सिमल तरुललगायत अन्य विभिन्न प्रकारका कन्दमुलले भरिएका छन् । चिसो मौसम अर्थात् माघे संक्रान्तिमा अत्याधिक मात्रामा तरुलको माग हुने र बिक्री हुने भएकाले सोही अनुसार बजारमा तरुलको आगमन हुने गर्दछ ।

साथै, चाकु, तीलको लड्डु पनि व्यापारीहरूले माघको लागि तयार गरेर बेच्नका लागि राखिसकेका छन् । यसपटकको मकर संक्रान्तिका लागि हालसम्ममा काठमाडौं उपत्यकामा ११ सय १५ टन तरुल भित्रिएको छ ।

‘जसमा ९६ प्रतिशत तरुल आन्तरिक बजारको छ भने बाँकी ४ प्रतिशत मात्रै भारतबाट आयात भएकोे कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए ।

यस वर्षको संक्रान्तिका लागि गत सातादेखि नै बजारमा तरुलको खरिदबिक्री भइरहेको छ । साथै, आन्तरिक बजारमा उत्पादन भएका अधिकांश तरुल यही चाडपर्वको बेलामा बिक्री हुने व्यवसायीहरू बताउँछन ।

हाल बजारमा तरुलको प्रकार अनुसार ६० रुपैयाँदेखि २ सय ५० प्रतिकेजीमा बिक्री भइरहेको छ त्यस्तै, गत वर्षको तुलनामा यो वर्ष तरुलको व्यापार खासै हुन नसकेको व्यापारीको भनाइ छ ।

बजारमा अहिले विभिन्न प्रकारका तरुलहरु पाइने गर्दछन । हात्तीपाइले तरुल, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल, पातले तरुल, सिमल तरुल आदि प्रजातिका तरुल पाइन्छन् । तर उपभोक्ताले भने यसपटक बजार महंगो भएको गुनासो गरेका छन् ।

मंहगो भएका कारण उपभोक्ताहरुले तरुल खरिदमा मात्रा घटाएपछि नेपालको उत्पादनले नै बजार धान्न सक्ने अवस्था रहेको व्यापारीहरु बताउछन् । काठमाडौं उपत्यकामा अधिकांश तरुल सर्लाहीबाट भित्रिन्छ भने बारा, धादिङ, नवलपरासी, चितवन, तनहुँलगायत जिल्लाबाट पनि भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV