जापानमा गैरआवासीय विदेशीलाई फेरि प्रवेश रोक



प्रकाशित मिति : Jan 13, 2021

एजेन्सी, २९ पुस । जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरि रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गर्नुभयो । जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।

पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ । विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।

जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com