खराब मौसमका कारण विराटनगर विमानस्थलबाट हुने सबै उडान रद्द



प्रकाशित मिति : Jan 13, 2021
  • तारा आचार्य,

विराटनगर, २९ पुष । खराब मौसमका कारण दोश्रो पटक विराटनगर विमानस्थलबाट हुने सबै हवाई उडान रद्द भएको छ ।

सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ । तर, बुधवार भिजिबिलिटी ७ सय मिटर र सिलिङ १ हजार ५ सय मिटर मात्र रहेको यति एयरलाइन्सका स्टेशन मेनेजर प्रेम कुँवरले जानकारी दिनुभयो ।

सोमवार पनि मौसमका कारण विराटनगर विमानस्थल नखुल्दा सबै हवाई उडान रद्द भएको थियो । विमानस्थल नखुल्दा बुद्ध एयरको ७ वटा, यति एयरलाइन्सको ४ वटा, सौर्य र श्री एयरलाइन्सको दुई दुई वटा गरी १५ वटा उडानहरु रद्द भएको हो ।

विराटनगर विमानस्थल भएर दैनिक करिब १ हजार यात्रुहरु राजधानी काठमाडौं जाने गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com