२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम औचित्यपूर्ण भएको बताउनु भयो । उहाँले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने विचार व्यक्त गर्नुभयो ।

आज भक्तपुर नगरपालिकाको आठौं नगरसभा उद्घाटन गर्दै सचिव सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर बनाउन जनतालाई सचेत बनाउँदै जनताको शैक्षिक र बौद्धिक स्तर उठाउनु पर्नेमा जोड दिनुभयो ।

सचिव सुवालले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नदिनुमा शासक दल जिम्मेवार भएको बताउँदै शासक दल गरिब जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा दिने पक्षमा नभएको बताउँनुभयो ।

उहाँले ख्वप विश्वविद्यालयको सम्बन्धन प्राप्त भएमा देशभरका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान हुनेमा आश्वस्त पार्नुभयो ।

नगरसभा उद्घाटनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गर्ने जनप्रतिनिधिहरूको भूमिका अझ बढेको र थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता भएको बताउनु भयो ।

स्थानीय तह योजना कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय भएकोले विकास निर्माणको अधिकांश बजेट स्थानीय तहमा पठाइनु पर्ने र स्थानीय तहमा बढी बजेट पठाएको खण्डमा विकास निर्माणको काम अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्ने नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोलाई स्वभाविक राजनैतिक घटनाक्रमको रुपमा व्याख्या गर्दै प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गर्ने जनप्रतिनिधिहरूको भूमिका अझ बढेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिका सिंगो देशको लागि उदाहरणीय नगर र जनप्रतिनिधि बन्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV