पार्टी विभाजन नभएको जानकारीसहितको पत्र ओली समूहले निर्वाचन आयोगलाई पठायो



प्रकाशित मिति : Jan 13, 2021

काठमाडौं, २९ पुष । नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)ले पार्टी विभाजन नभएको जानकारी सहितको पत्र निर्वाचन आयोगलाई बुझाएको छ ।

निर्वाचन आयोगले ओली समूह र अर्का प्रचण्ड–नेपाल समूहलाई जवाफ दिन भनेपछि दुबै समूहले आ–आफ्नो दाबी सहितको पत्र बुझाएका हुन् । बुधबार केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ ।

आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन भनेको थियो । ओली समूहले आयोगलाई बुझाएको जवाफमा नेकपा विभाजन नभएको र दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल कायमै रहेको उल्लेख गरेको छ ।

पत्रमा नेपाल वरिष्ठ नेता कायमै रहेको उल्लेख छ । यस्तै, पत्रमा दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको जिकिर गरिएको छ ।

नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको र महासचिव विना बसेको अर्को समूहको बैठक आधिकारीक नहुने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

ओली पक्षले आफूसँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दावी गरेको छ ।

निर्वाचनको तयारीमा सबै जसो राजनीतिक दलहरु लागिसकेको अवस्थामा ढुक्क भएर निर्वाचनको तयारी गर्न अनुरोध गरेको ओली समूहले जनाएको छ । दाहालसमेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरेपनि नेकपा विभाजन नभएको ओलीले पठाएको पत्रमा उल्लेख छ ।

नेकपाका दुवै पक्षले पार्टीमा गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखिकरण गर्न कानूनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरूले उपलब्ध गराएका चिठीपत्र र जानकारीकै आधारमा मात्र पार्टी संरचनागत हेरफेरको विवरण अभिलेखीकरण गर्न नसकिने बताएको थियो ।

आयोगले त्यसमा राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन सात दिनको समय दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com