२९ पुष २०७७, बुधबार
  • उत्तम पौडेल

पोखरा , २९ पुष । जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कंशको संज्ञा दिनु भएको छ । पोखरामा जनता समाजवादी पार्टीले आयोजना गरेको बिरोध कार्यक्रममा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीलाई कंश र रावणको संज्ञा दिनुभएको हो ।

पोखराको चिप्लेढुङ्गामा जनता समाजवादी पार्टीले बुधबार आयोजना गरेको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चलिरहेको संसद भंग गरेर संविधानलाई नै संकटमा पारेको बताउनुभयो । कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष भट्टराईले सत्य युग र द्धापर युगका खलनायक कंश र रावण जस्तै यो ७० बर्ष पछि जनताको बलिदानले ल्याएको संबिधानलाई संकटमा पार्ने केपी ओली यो युगका कंश र रावण बनेको आरोप लगाउनुभयो ।

उहाँले जनता कोरोनाको यो कहरमा संयमित भएर बस्नुपर्ने तथा सरकारले भ्याक्सिनको लागि पहल गर्दै जनताको स्वास्थ्यको जिम्मा लिनुपर्ने बेलामा संसद भंग गरेर जनतालाई सडकमा झर्न बाध्य बनाएको बताउनुभयो । उहाँले स्वास्थ्य , शिक्षा , विकास र संमृद्धिको लहर चलाउनुपर्ने बहुमतको सरकारले केही काम गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष भट्टराईले नेकपाको आन्तरिक कलहले देशलाई भड्खालोमा हालेको आरोप लगाउँदै पार्टीको बिवादले गर्दा जनतालाई मर्कामा पार्ने, संविधान धरापमा पर्ने तथा अन्यौलको स्थिति सृजना गर्न नहुने बताउनुभयो ।

त्यस्तै जसपाकै अर्का नेता अशोक राईले केपी ओलीले तत्काल बालुवाटारबाट झिटी गुन्टा बोकेर बसाई सर्नुपर्ने बताउनुभयो । नैतिकरुपमा प्रधानमन्त्री बालुवाटार बस्ने अधिकार नभएको भन्दै नेकपा भित्रका दुई नेता माधव नेपाल र प्रचण्डको चर्को आलोचना गर्नुभयो । सडकमा कसेर हामी यहाँ छौ भनेका प्रचण्ड र माधव नेपाललाई ब्यङ्ग्य गर्दै उनीहरुको स्थान नै त्यहि भएको बताउनुभयो ।

कार्यक्रममा जसपाका नेता शरत् सिंह भण्डारी लगायतका शीर्षस्थ नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV