२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएका हुन् ।

‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने, ‘हामी एक दिन त के एक छिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’

अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाइ आएको हो । रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए ।

उनले एमसीसीलाई लागू गर्न जोड दिए । उनले भने, ‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’

रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालले धोका दिएका आरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकता हुँदा पहिलो अध्यक्ष बनाएको, प्रधानमन्त्री बनाएको र संसदीय दलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको आरोप लगाए ।

“पहिलो सर्वसम्मत गर्ने, अहिले कोकोलाई केके इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?” उनले प्रश्न गरे । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामी यहाँ छौँ भनेर सडकमा देखापरेको भन्दै रायमाझीले व्यङ्ग्यसमेत गरे ।

रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेता भएको बताए । आफू अवसरवादी नेता नभएको भन्दै उनले जनमुक्ति सेना र गुरिल्ला बनाउन विगतमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

“अवसरवादीका कुरा गर्ने ? को अवसरवादी ? कसैले हिम्मत गरोस्, आधार पेश गरोस् न ?” उनले भने । आफ्ना सामुन्ने आएर अवसरवादी भन्न चुनौती दिए । जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि डा. बाबुराम भट्टराई देशका लागि आवश्यक व्यक्ति भनेर काँध थापेको तर माओवादी केन्द्र छोडेपछि आफूले साथ दिन नसकेको उनले बताए ।

उनले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धीका विषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दावी छ ।

उर्जासम्बन्धी एजेण्डामा पनि छलफल हुने रायमाझीले बताए । ४ सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युत भारत र भारतको विद्युत नेपाल ल्याउनुपरेमा सहज हुने बताए ।

विद्यतु व्यापारसम्बन्धमा पनि छलफल हुने उनको भनाइ छ । त्यसैगरी, माथिल्लो कर्णालीका विषयमा पनि दुई पक्षीय छलफल हुने छ । नेपालमा अहिले विद्युतको अभाव नभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको मन्त्री रायमाझीले बताए ।

उनले लोडसेडिङ्ग नभएको स्पष्ट पारे । बेला बेलामा वत्ती जाने समस्याबारे सोधेको प्रश्नमा उनले, ‘गत वर्षभन्दा यो वर्ष कम विद्युत गएको छ ।’ तपाई मन्त्री बन्नासाथ किन विजुली आउने जाने भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री रायमाझीले भार वितरण केन्द्रमा भएको समस्याले विद्युत आपूर्तिमा समस्या आएको बताए ।

तर, गत वर्षभन्दा कम पटक विजुली गएको स्पष्ट पारे । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै विद्युत आपूर्तिको तथ्याङ्क नै पेश गरेका थिए । नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भूमिका खेलेको रायमाझीको दावी छ ।

मास्टरप्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले जानकारी दिए । यस विषयमा स्वयम् घिसिङले पनि स्वीकारेको उनले बताए । आफूले नै विद्युत प्राधिकरणको प्रमुखका रुपमा घिसिङलाई ल्याउने पहल सुरु गरेको रायमाझीले बताए ।

“त्यसबेला मुकेश काफ्लेलाई हटाएर घिसिङलाई ल्याउने योजना मेरो हो । मैले नै वातावरण सिर्जना गरेको हो । तर सरकार परिवर्तन भयो । जसले गर्दा मेरो पालामा हुन पाएन । तर मेरै योजना हो” उनले भने ।

अहिलेको आफ्नो चुनौती धेरै भएको विजुली कसरी खपत गर्ने भन्ने रहेको उनको भनाइ छ । आगामी भदौसम्म त ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको उनले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV