२९ पुष २०७७, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट, २७ पुष । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराहीमा बसोबास गर्दै आइरहेकी ७५ वर्षीया वृद्धा सन्चमाया योन्जनले हालसम्म नेपालको नागरिकता पाएकी छैनन् । हाल मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर २ डोटे राइगाउँ भन्ने स्थानबाट करिब १५ वर्ष अगाडि सो स्थानमा बसाइ सरेर आएकी उनले आफुले नागरिकता बनाउन नसक्दा राज्यले वृद्धहरुलाई प्रदान गर्दै आइरहेको मासिक ३ हजार वृद्धभत्ता पनि आजसम्म पाएकी छैनन् ।

दुईवटा बिवाह गरेकी उनको दुबै श्रीमानहरुको मृत्यु भइसकेको छ भने सन्तानमा एक छोरा , एक छोरीलाई जन्म दिएकी उनको छोराको पनि मृत्यु भइसकेको छ । जिउँदो छँदा श्रीमान् नागरिकता नबनाइदिदाँ उनलाई नागरिकता बनाउन सकस भएको हो । पूर्ण निरक्षर रहेकी उनले डोटेबाट बसाइ सरेर आउँदा बसाइसराइ पनि बनाएकी छैनन् भने श्रीमानको पनि नागरिकता हराइसकेको छ । उनलाई नागरिकता बनाउन कहाँ जानुपर्छ के गर्नुपर्छ , के के कागजात चाहिन्छ कुनै अत्तोपत्तो छैन् ।

उनको अवस्थामा देखेर सोही वार्डका केही स्थानीयले उनको नागरिकता बनाउन पहल गरेपनि नेपाली हो भन्ने प्रमाण जुटाउन नसक्दा नागरिकता बन्न सकेन् । स्थानीय एक बहादुर मोक्तानले योञ्जनको नागरिकता बनाउन भनेर वडा कार्यालय धाएपनि उनको जन्म प्रमाणित गर्ने कुनै कागजात जुटाउन नसकेपछि हार खाएर बसेको गुनासो गर्छन् ।

उनको मात्र होइन उनीसँगै बसोबार गर्दै आइरहेका उनका नाति र नातिनी बुहारी पनि नागरिकता बन्न सकेको छैन् । उनकी छोरीको छोरा २२ वर्षीय शरण तामाङ्ग र उनकी श्रीमती २३ वर्षीया अनिषा तामाङ्ग पनि नागरिकता बनेको छैन् । कक्षा ४ सम्म मात्र पढेका शरण ६–७ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको र आमाले उनलाई छाडेर अर्को बिवाह गरेर गएपछि उनको पनि नागरिकता बनाउन सकस भएको हो । आमाले छाडेदेखि उनी हजुरआमासँग बस्दै आइरहेका छन् ।

आफुसँग बुबाको नागरिकता पनि नभएको र ५–६ वर्ष अगाडि चितवनमा रहेका ठुलोबुबाहरुसँग नागरिकता बनाइदिन अनुरोध गरेपनि नबनाइदिने भनेकाले आफ्नो नागरिकता नबनेको दुःखेसो उनको छ ।

काठमाडौँमा मजदुरी गरेर पेट पाल्दै आएका उनको ४ वर्ष अगाडि प्रेम बिवाह भएको थियो । अहिले उनको ३ वर्षको र १ वर्षको दुई छोराहरु छन् । श्रीमान–श्रीमती दुबैजनाको नागरिकता नभएपछि उनीहरुको बिवाह दर्ता भएको छैन् अनि बिवाह दर्ता नभएकाले छोराहरुको जन्मदर्ता भएको छैन् । जन्मदर्ता नहुँदा जेठो छोरालाई विद्यालय भर्ना गर्न पाएका छैनन् भने कान्छो छोरा राज्यले प्रदान गर्दै आइरहेको पोषण भत्ताबाट बन्चित छन् । नागरिकता भए पासपोर्ट बनाएर विदेश जाने र हजुरआमा अनि आफ्ना सन्तानहरुलाई सुनौलो भविष्य प्रदान गर्ने शरणको सपना छ ।

आर्थिक स्थिति निकै कमजोर रहेको उनीहरुको सम्पतिको नाममा खोला छेउमा एउटा सानो झुपडी मात्र छ । गाउँमै अरुको खेतमा बनिबुतो गरेर जीवीकोपार्जन गर्दै आएका उनीहरुलाई नागरिकता प्रदान गरेर राज्यले पाउनुपर्ने सुविधाहरु भोग गर्ने वातावरण सृजना गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।

नेपालको संविधानले पनि कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन् भनेको छ तर नेपालमै आफ्नो सम्पूर्ण उमेर बिताउँदा पनि जस्ता कैयौँ नेपालीहरु कागजात पु¥याउन नसक्दा नागरिकता पाउनबाट वञ्चित भइरहेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले योञ्जन र उनको परिवारलाई नागरिकता बनाउन आफ्नोतर्फबाट हुने र सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले योञ्जनको अवस्था बुझ्न उनकै गाउँमा जाने र कसरी सकिन्छ नागरिकता दिलाउन पहल गर्ने विश्वास दिलाउनुभएको छ । यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौलाले पनि यस विषयमा चासो देखाउँदै आफ्नो र कार्यालयको तर्फबाट सक्ने र हुने सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

तर ती वृद्धा आमालाई नागरिकता बनाउनको लागि नेपाली हो भनेर प्रमाणित गर्ने कुनै न कुनै कागज चाहिने हुँदा ती आमाको बलबुत्ता, अवस्था , परिस्थिति र विगतलाई हेर्दा सो कागज जुटाउन एकदमै मुस्किल वा झण्डैझण्डै असम्भव छ । यस्तो प्रतिकुल अवस्थाको वावजुद पनि ती आमाले नेपालको नागरिकता पाउनुहुन्छ वा नेपालको नागरिकनै नबनी सारा जीवन गैरनागरिक बनेर बिताउनुहुन्छ , त्यो त समयले बताउँला । तर टाठाबाठा विदेशीहरुले जालझेल गरेर कागजात मिलाएर नेपाली नागरिकता लिने देशमा नेपालमै सारा जीवन बिताउनुभएकी ती आमाले नागरिकता पाउनुहुन्छ कि हुँदैन् हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV