च्याउ खेतीमा जम्दै देवीघाटका नायक विश्वजित रिमाल
काठमाडौं, २८ पुष । करिब १ बर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘लभ डायरीज’ नायक विश्वजित रिमाल यतिबेला कृषि कर्ममा तल्लिन छन् ।
कोरोनाको कारण भएको लामो लकडाउन र त्यसले चलचित्र छेत्रमा पारेको असरका कारण पनि नायक रिमालले पूर्णरुपमा खुलेर च्याउको व्यवसायिक खेती सुरु गरेका हुन् ।
नुवाकोटको देवीघाट खड्गभज्याङ स्थायी घर भएका विश्वजितले आफ्नो दाई बिकाश रिमालसंग मिलेर करिब ३ करोडको लगानीमा ललितपुरको गोदावरीमा ‘मा दुर्गा मशरुम इण्डस्ट्रीज’ सञ्चालन गरिरहेका छन् ।
उनको च्याउ फर्ममा अत्याधुनिक हाइटेक प्रविधिबाट च्याउ उत्पादन हुने नेपालकै दोस्रो ठूलो च्याउ फर्म हो । १२ रोपनी जग्गा भाडामा लिएर सुरु गरेका उनको ‘मा दुर्गा मशरुम इण्डस्ट्रीज’मा अहिले हरेक महिना करिब १० टन च्याउ उत्पादन हुने गरेको छ ।
उनले भने, हामीकहाँ कृषि पेशालाई हेलाको दृष्टिले हेरिन्छ । कृषि कर्ममा लागेकाहरु पनि यसलाई मुख्य आम्दानीको स्रोत मान्ने गरेको पाइँदैन ।
बरु जग्गा बाँझो राखेर जागिर गर्न स्वदेश र विदेशबाट विभिन्न ठाउँमा जाने तर कृषिलाई मुख्य पेशा नमान्नेहरुको संख्या ठूलो छ । त्यसैले ठूलो जनसंख्या कृषिमा आश्रित भए पनि अहिले आयात गर्नुपर्ने अवस्था छ ।
कर्मलाई श्रम संस्कृतिको रुपमा बुझ्नु पर्छ । सरकारले कृषि पेशालाई आधुनिक, कृषिलाई फलित बनाउनका लागि, कृषि पेशा अर्थतन्त्रको मेरुदण्ड हो भनेर बुझ्न आवश्यक छ ।’
कृषिलाई नयाँ प्रक्रियाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाएर यसैबाट नेपाल र नेपालीको भलो हुने गरी बजेट छुट्याउने, योजना बनाउने काम सरकारले गर्न आवश्यक रहेको उनको भनाइ छ ।