२८ पुष २०७७, मंगलवार
  • रिया भण्डारी,

काठमाडौं, २८ पुष । नेपालले कोरोनाविरुद्धको खोप सीधै कम्पनीमार्फत् खरिद गर्दा समय लाग्ने भएपछि खोप विकासकर्ता देशसंग खोप उलपब्ध गराइदिन सहयोग माग गरेको छ ।

नेपालमा खोप दिनका लागि जनशक्ति र पूर्वाधारको तयारी सुरु हुँदै गर्दा छिमेकी मुलुक भारतले मंगलबारदेखि सबै प्रान्तमा खोपको पहिलो चरण पठाइसकेको छ । तर, नेपाल अझै पनि छिटो खोप ल्याउने तयारीमा नै जुटदै गर्दा सरकारले भने फागुन महिना भित्र खोप आइपुग्ने दावी गरेको छ ।

छिमेकी भारतले जनवरी १६ देखि खोप अभियान सुरु गर्दैछ । छिमेकीले खोप लगाउने भएपछि नेपालीलाई खोप कहिले पाइएला भन्ने चिन्ताले सताएको छ । विश्व बजारमा खोप उपलब्ध भए लगत्तै नेपाल सरकारले खोप ल्याउने तयारी गरे पनि अहिलेसम्म नेपालमा खोप कहिले आइपुग्ने हो भन्नेबारेमा कुनै टुंगो लाग्न सकेको छैन ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संयुक्त अरब इमिरेट्स यूएई, रसिया र भारतका राजदूतसंग भेटेर कोरोना बिरुद्धको खोप छिटो उपलब्ध गराउने बारेमा छलफल भएको जानकारी दिनुभयो ।

खोप ल्याएर भण्डारण गर्ने ब्यबस्था र खोप दिने प्राथमिकताका स्वास्थ्यकर्मीको सुची लगायतको आन्तरिक ब्यबस्था सकिए पनि खोप उपलब्ध कहिले हुन्छ भन्ने टुंगो लागेको छैन ।

कम्पनीबाट सीधै खोप ल्याउन क्युमा बस्नु पर्ने र धेरै समय लाग्ने भएको कारण खोप ल्याउन खोप विकासकर्ता कम्पनी र मुलुकसंग कुटनीतिक पहल भइरहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनु भयो । ढिलोमा फागुन महिना भित्र खोप आइपुग्ने मन्त्री त्रिपाठीको दाबी छ ।

कोरोनाबिरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा त्यहाँ कार्यरत अग्रपंक्तिमा खटिने कर्मचारीलाई लगाउने योजना बनाएको स्वास्थ्य मन्त्रालयले देशभरबाट स्वास्थ्यकर्मीको बिवरण तयार पारिसकेको छ ।

यूएई रसिया र भारतमा खोपको लागि पहल भइसकेपछि खोप आउने सम्भावना भने भारतबाटै रहेको स्वास्थ्य मन्त्री त्रिपाठीको भनाइ छ ।

भारतमा प्रयोगमा आएको खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने र ढुवानी गर्न पनि सहज खालको छ । परराष्ट मन्त्री प्रदीप ज्ञवालीको माघ १ गतेको भारत भ्रमणमा खोप बारे पनि छलफल हुने र भारतमा प्रयोग मै आएको खोप नेपाल ल्याउने योजना सरकारको छ ।

नेपालले जनसङ्ख्याको लगभग २० प्रतिशतलाई पुग्ने गरी कोरोनाभाइरस खोप तत्कालै उपलब्ध गराइदिन भारतलाई यसअघि नै पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV