२८ पुष २०७७, मंगलवार

काठमाडौं, २८ पुष । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न माग गरेको छ ।

मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई १६ बुँदे ज्ञापन पत्र बुझाउदै अग्रज सञ्चारकर्मीलाई राहत एवं मासिक जीवन निर्वाह भत्ताको माग गरिएको हो ।

महासंघ काठमाडौंले ६० वर्ष उमेर पुगेका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिसकेका जेष्ठ तथा अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै समानुपातिक विज्ञापन नीति लागू नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढँगले वितरण गर्ने व्यवस्थाका लागि नीतिगत कदम चाल्न पनि माग गरिएको छ ।

ठूला सञ्चार गृहहरुमा अहिलेसम्म श्रमजीवी पत्रकार ऐन लागू हुन नसकेको भन्दै तत्काल सरकारले हस्तक्षेप गरि ऐन लागू गराउन माग गरिएको महासंघले जनाएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री गुरुङले महासंघको माग सकारात्मक रहेको बताउनुभयो ।

उहाले परिवर्तित सन्दर्भमा सञ्चारकर्मीले सन्तुलन र सहि सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । महासंघ काठमाडौं शाखाले प्रेस काउन्सिलद्वारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV