२८ पुष २०७७, मंगलवार
  • भगतराम थारु

नेपालगन्ज, २८ पुष । थारु समुदायमा माघीको रौनक बढेको छ । यतिबेला थारु समुदायमा थारु पहिचान झल्कने नाचगानले थप रौनकता थपेको हो । करिव १ महिना अगाडीदेखि थारु समुदायमा माघी पर्वको तयारी गर्ने गर्दछन् ।

यतिबेला थारु बस्तीमा माघको रौनकताले थारु बस्तीमा हर्सोल्लास थपेको छ । माघी पर्व अर्था थारु समुदायको नयाँ बर्ष माघी आउन एक दिन बाँकी छ । माघको अन्तिम दिन सुङगुर अर्थात (जिता) मार्ने चलन रहेको छ ।

सोही दिन गाउँभरीका एकठाउँ जम्मा भई सुङगृरको मासु बाँडफाड गरि आ आफ्नो घरमा लग्ने चलन रहेको छ । जिता मारेपछि उनिहरु घरमा लगेर अनेक परिकार जस्तै तरुल, घोधी, ढिक्री, माछा, जाँड स परिवार मिलेर खाने चलन रहेको ठाकुरबाबा नगरपालिका ३ का थारु अगुवा लहानु थारुले बताउनुभयो ।

थारु समुदायको दशैं पछिको ठूलो पर्व हो । थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघी पर्वसँगै नयाँ कामको सुरुवात हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेको स्थानीय थारु अगुवाहरू बताउँछन् । प्राचीन कालमा थारुहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ ।

वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय हो माघे संक्रान्ति तसर्थ माघमा थारु समुदायमा घर बाँडफाड गर्ने, जग्गा अधिया लगाउने या नलगाउने, बर्षभरीको समिक्षा र आगामी दिनको योजना समेत माघीमा बनाउने गरेको पाइन्छ ।

माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन पनि थारु समुदायमा रहेको छ ।

नयाँ वर्षका रुपमा माघी पर्व मनाइने भएकाले पढाई तथा रोजगारीका लागि बाहिरिएका थारु समुदायका व्यक्तिहरू पनि माघी मनाउनका लागि आफ्नै घर फर्केका छन् । माघीमा गाँउघरमा ढोग (स्यावा) लाग्ने, दिदी बहिनीलाई कोसेली सहित भेटन जाने, मघौटा नाचको आयोजना गर्ने, अंशवंण्डा गरिने, गुरुवा केशौका र बडघर चुन्ने लगायत कार्य परम्परागत कालदेखि चल्दै आएको कोहलपुर नगरपालिकाका उपमेयर सन्जु थारुले बताउनुभयो ।

माघे संक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । सोही दिन नजिकै लागेको मेला महोत्सवमा रमाउन जाने र गाउँघरमा गुच्चा खेल्ने प्रचलन समेत रहेको थारुले बताउनुभयो ।

माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा निसराउ भनिन्छ । माघीका दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ ।

यसैगरि थारु बस्तीमा साँझा साँझा थारु पहिचान झल्कने थारु नाच गान गाई रमाउने चलन रहेको छ । थारु समुदायमा एक महिनादेखि यस्तै रौनक र माघ महिनाभरी नाच गान गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV