२८ पुष २०७७, मंगलवार
  • रिदम सिंह,

बझाङ, २८ पुष । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले कानूनी रुपमा पार्टी विभाजन नभएकाले बरालिएर नहिड्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनताको जनमतको कदर गर्दै दुई कम्युनिष्ट पार्टी एक भएको स्मरण गर्दै मन्त्री ठगुन्नाले प्रचण्ड–माधवले चाहदैमा पार्टी नफुट्ने बताए ।

नेकपा बझाङको जिल्ला सदरमुकाम चैनपुरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले प्रचण्ड–माधव समूहले जिल्ला–जिल्लामा गएर पार्टी फुटेको भ्रम छरिरहेकाले भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन ।

नेकपा फुटेको हो, भन्ने आम जनमानसमा चिन्ता बढेकोले पार्टी कानुनी रुपमा विभाजन नभई केही ब्यक्तिहरु बाहिर जाँदा चोइटिएको मात्र बताए ।

उनले जनताले पाँच बर्षका लागि दिएको जनादेशलाई बीच बाटोमै तुहाउन खोजेपछि ताजा जनादेशका लागि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको निर्णय लिनु जायज भएको जिकिर गरे ।

पार्टी अध्यक्ष हुनका लागि तीन महिना र प्रधानमन्त्रीका लागि दुई वर्ष कुर्न नसक्ने पद लोभका कारण नेकपा भित्रको विवाद चुलिदै गएको उनको भनाइ छ ।

कुनै पनि जनता वा नेताले सडकमा गएर राजनीतिक आन्दोलनको नाममा ‘हामी यहाँ छौँ’ भनेर भन्नुपर्ने अवस्था नरहेकोले प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपा पार्टीमा सहभागी भएर अगाडि बढ्न अनुरोध गरे ।

प्रचण्ड–माधव समूहलाई अंकित गर्दै ठगुन्नाले नेकपाबाट छुट्टिएर अलग नहुन र सहयात्रामा आउन आग्रह गरेका छन । यदि नेपाली जनताले दिएको जनमतको कदर नगरे आगामी चुनावमा नेपाली जनताले सवक सिकाउने उनको भनाइ छ ।

सरकारले अहिले संविधान, कानून र विधि पद्धतिअनुसार नेपाली जनताले राजनीतिक अस्थिरता नभइ परिर्वतन, विकास निर्माण र समृद्धि खोजिरहेकाले सोही अनुसार जनादेशको पालना गरिरहेको मन्त्री ठगुन्ननाको भनाइ छ ।

जनताको जनादेश अनुसार आफूहरु अहिले पनि सिंगो कम्युनिष्ट आन्दोलन एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा रहेकोले गुट फुटमा लागेका पार्टीका अन्य सदस्यलाई पनि मुल धारको नेतृत्वमा आउन आग्रह गरे ।

फरक प्रसंगमा बोल्दै मन्त्री ठगुन्नाले अबको आन्दोलन विकास र परिर्वतनको लागि हुनपर्ने भन्दै देशको भौगोलिक अखण्डताको लागि आन्दोलन हुनुपर्ने, मिचिएको भूमि फिर्ताको लागि आन्दोलित हुनुपर्ने बताए ।

चर्चामा रहेको कालापानी, लिपुलेक लिपियाधुरा र सीमा क्षेत्रका विषयमा आफू सदैव गम्भीर भएर लाग्नेमा पनि जोड दिए । आफू सरकारको मन्त्री भएको हैसियतले बझाङको विकासका लागि सदैव अग्रपंक्तिमा रहने बताए ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रको विवाद समाधानको लागि पहल गरिरहेकाले चाँडै निकास आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV