२८ पुष २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, २८ पुष । २०७८ साल बैशाख १७ र २७ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय विराटनगरले मतदान स्थल र मतदान केन्द्र बारे छलफल शुरु गरेको छ ।

निर्वाचन आयोगबाट अनुमानित मतदाता आएकाले सोही अनुसार मतदान केन्द्र पूूनरावलोकन गर्नुपर्ने भएकाले बैठक बसेर निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मतदान स्थल र मतदान केन्द्र सिफारिस समितिको बैठक बसेर सम्बन्धित पालिकाहरुमा पूनरावलोकनका लागि पठाइएको जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिए ।

मोरङका १७ वटा स्थानीय तहका ३०० वटा मतदान स्थलमा ७५८ वटा मतदान केन्द्र रहेको थियो । यसपटक मतदाता संख्या ६ लाख ४४ हजार ७ सय ८३ बाट बढेर ६ लाख ७२ हजार ४ सय पुग्ने अनुमान गरिएको छ ।

मतदाता संख्या बढेकाले ७ सय ८४ वटा मतदान केन्द्र हुने अनुमान गरिएको छ । माघ ५ गतेभित्र सम्बन्धित पालिकाहरुले सुझावसहित मतदान केन्द्रको आवश्यकता पठाएपछि प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला मतदान स्थल र मतदान केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा पठाउने छ ।

छलफल कार्यक्रममा मोरङका सुरक्षा प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV