२८ पुष २०७७, मंगलवार
  • भगतराम थारु

नेपालगन्ज, २८ पुष । चेतन मानन्धर हत्यामा संलग्न नेपालगन्जका दुई जना पक्राउ परेका छन् । २०७२ सालमा चेतन मानन्धरको धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो ।

नेपाल प्रहरीले ५ बर्षपछि दुई जनालाई पक्राउ गर्न सफल भएको हो । नेपालगन्ज उपमहानगरपालिका ५ का ३० बर्षिय हरि वली र सोही ठाउँका ३१ ब्र्षिय विवाद पाठकलाई बाँके प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

उक्त घटनामा संलग्न नेपालगन्ज १८ का ३० वर्षीय वलीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । वली र पाठकलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो ।

त्यसलगत्तै उनीहरु दुबैजना फरार रहेका थिए । पुरानो रिसिईबीका कारण चेतन मानन्धरको नेपालगन्ज धम्बोझी स्थित स्वष्टिक कटेजनिर धारिलो हतियार (खुडा) प्रहार गरि हत्या गरिएको थियो ।

प्रहरीका अनुसार चेतनको घटनामा संलग्न १५ जना मध्ये १२ जना पक्राउ परिसकेका छन् भने ३ जन अझै फरार रहेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । ३ जना मध्ये १ जना विदेश रहेको र २ जनाको खोजतलास भैरहेको एसपी रानाले जानकारी गराउनुभयो ।

यस्तै लाठी प्रहार गरी भाइको हत्या गरेको आरोपमा संलग्न इसराइल खाँलाई पनि प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको लाठी प्रहार गरि पुष २७ गते हत्या गरेका थिए । आपसी रिसिवीका कारण उनले सामुदायिक वनमा भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ललाई पक्राउ गरेको छ । मंगलवार नेपालगन्ज विमानस्थल प्रबेश गर्ने क्रममा मल्ललाई प्रक्राउ गरेको हो ।

बाँकेका एसपी ओम रानाका अनुसार, राँझा विमानस्थलबाट मुगु राराछायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जनाएको छ । यस्तै प्रहरीले भन्सार छलि ल्याएको १० खच्चड जिर बरामद गरि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV