२८ पुष २०७७, मंगलवार
  • अमर काफ्ले

इनरुवा, २८ पुस । सुनसरीको इनरुवामा ओली पक्षले अनेम संघ पुनर्गठन गरेको छ । ओली पक्षधरले यस अघि रहेको कमिटीबाट प्रचण्ड–नेपाल समर्थितलाई हटाएर आफू अनुकुलको कमिटी विस्तार गरेको हो ।अनेम संघ इनरुवा नगर कमिटीले आयोजना गरेको अगुवा महिला भेलाकोबीच कमिटी पुनर्गठन गरिएको हो । भेलाले इन्दिरा पराजुली संयोजक रहेको ५५ सदस्यीय कमिटी गठन गरेको छ । उक्त कमिटीको सह–संयोजकमा सरिता कार्की घिमिरे रहेकी छन् । त्यसैगरी सचिवमा सविना सिग्देल रेग्मी र कोषाध्यक्षमा अनु आले रहेकी छन् ।

कमिटी गठन पूर्व कार्यक्रममा भेला भएका अगुवा महिलासहित सहभागिलाई नेकपाका ओली पक्षधर नेताहरुले सम्बोधन गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि भगवती चौधरीसहित नेताहरु तैयब हुसेन, खेमराज पोखरेल, रेवती भण्डारी, लिलम बस्नेत, लक्ष्मी गौतम, मञ्जु भण्डारी, सरोज पोखरेल र कानुन अधिकारी, मेघराज न्यौपाने, सरिता कार्की घिमिरे लगायतले धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताले प्रधानमंत्री ओलीको कदमलाई सराहनीय भनेका छन् । प्रचण्डले नेकपा सिध्याउन लागेपछि पार्टी र मुलुकलाई जोगाउन ओलीले बाध्यात्मक रुपमा उक्त कदम चाल्नु परेको उनीहरुको जिकिर थियो ।

नेपाल लेखापढी कानून व्यवसायीको भवनमा आयोजित कार्यक्रममा सहभागिको संख्यात्मक उपस्थिति बाक्लो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV