२७ पुष २०७७, सोमबार
  • रिया भण्डारी

काठमाडौं, २७ पुष । आधुनिक नेपालका निर्माता पृथ्बीनारायण शाहलाई सरकारले सम्झन छोडे पनि नागरिक समाज र केही राजनीतिक दलले भने उनको योगदानलाई जीवन्त राख्न अथक प्रयास गर्दै आएका छन् । नेपाल र नेपाली भनेर विश्वमा चिनाउने उनै पात्रलाई विगत केही बर्षदेखि विवादमा ल्याएर उनको योगदानमाथि प्रश्न उठाउँने काम हुँदै गर्दा पृथ्बीनारायणको योगदान विर्सनु हुँदैन भन्दै सम्झाउनेहरुको संख्या पनि बाक्लो देखिन थालिएको छ ।

सोमबार देशभर पृथ्बीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो । दर्जनौ स्थानीय तहले औपचारिकरुपमा नै सार्वजनिक विदा दिएर पृथ्बीनारायणको योगदानलाई जीवन्त राख्ने प्रयास गर्दै गर्दा काठमाडौंमा पनि बिभिन्न कार्यक्रमहरु गरिए । मुलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि नेपाल राष्ट्रको एकीकरणकर्ता पृथ्बी नारायण शाहलाई पनि शाह वंशीय राजाहरुको स्थापनाकर्ता भन्दा माथि उठेर हेर्ने प्रयास गरिएन ।

हुनत सरकारमा बसेका धेरैले पृथ्बीनारायण शाहलाई कतै न कतैबाट सम्झिरहेका छन् र उनको योगदानको खुलेर प्रशंशा गर्दै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्बीनारायण शाहको योगदान अमर रहने भनेर सम्मान व्यक्त गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरणमा पृथ्बीनारायण शाहको योगदान अतुलनीय भनेर सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । तर पनि पृथ्बीनारायण शाहको सच्चा सम्मान गर्दै एकता दिवसलाई सरकारी स्तरबाट व्युँताउने काम भने कतैबाट भएको छैन ।

बाइसे चौबीसे राज्यलाई एकताबद्ध गरी विशाल नेपाल मात्र तयार गरेनन उनले । तत्कालीन समयमा विश्वलाई नै आफ्नो मुठ्ठीमा कैद गरेको अंग्रेजहरुलाई बारम्बार हराएर नेपाललाई विश्वमा बीर गोरखाली नामले चिनाए । गौरवका यिनै नायकको जन्म जयन्ती मनाउन पनि अहिले कञ्जुँस्याई गर्नु पर्ने अवस्था आउनु यो कस्तो विडम्बना हो ?

सोमबार सिंहदरबार अगाडि पृथ्बीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न र उनको योगदानको स्मरण गर्न पुगेका नागरिक समाज र राष्ट्रिय प्रजातन्त्र पार्टी एवं शिव सेना नेपालका कार्यकर्ता र प्रहरीबीच निकैबेर घम्साघम्सी पनि भयो । जस्मा ३ महिला घाइते समेत भएका छन् ।

आफ्नो संस्थापक मान्दै आएको नेपाली सेनाले पृथ्बीनारायण शाहले काठमाडौं उपत्यकामाथि जित हात पार्दा गोरखादेखि काठमाडौंसम्म हिडेको बाटैबाटो पैदल यात्रा गरेर विशेष सम्मान प्रकट गरेको छ । नेपाली सेनाले पृथ्बीनारायण शाहको सम्मानमा सोमबारदेखि आफ्नो मुख्यालयमा ‘पृथ्बीनारायण शाह अध्ययन केन्द्र’को पनि स्थापना गरेको छ । वि सं १७७९ पुष २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले गोर्खालाई केन्द्र बनाएर नेपालको भूभाग पूर्वमा टिष्टा र पश्मिमा काँगडासम्म पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV