२७ पुष २०७७, सोमबार
  • बालबिक्रम कार्की

रौतहट, २७ पुष। सहरी विकासमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका नजिककै मान्छेले मधेश विरोधी बनाएको आरोप लगाउनु भएको छ ।

रौतहटको चन्द्रनिगाहपुर स्थित होटल गौतममा आयोजित चन्द्रपुर स्मार्ट सिटी भावी कार्ययोजना सम्बन्ध मा छलफलमा सम्बोधन गर्दै मन्त्री साहले प्रधानमन्त्री ओलीको मधेशप्रति सदैव सहभाव र सद्भाव रहेता पनि उनकै वरपर बस्नेहरुले भित्रभित्रै भ्रम फैलाएर प्रधानमन्त्री ओलीलाई मधेश विरोधी हो भन्ने भ्रम छरेको आरोप लगाउनु भएको हो ।

उहाँले विरोधीहरुले प्रधानमन्त्री ओलीले सदैव तराइ–मधेशको विकासमा लागिरहँदा पनि उनलाई मधेश विरोधी भन्ने भ्रम फैलाएपनि अहिले जनताले वास्तविकता बुझीसकेकाले तराई–मधेश ओलीमय बनिसकेको दावी गर्नुभयो ।

‘प्रधानमन्त्री ओली सदैव तराई–मधेशको विकासप्रति चिन्तित रहनुहुन्छ’ उहाँले भन्नुभयो ‘तराई–मधेशको विकासको लागि के गर्नुपर्छ म गर्न तयार छुँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

उहाँले आफू मन्त्री भएपछि यसअघि योजना भएर पनि रोकिराखेको स्मार्ट सिटीको योजनालाई अगाडि बढाएको बताउँदै चन्द्रनिगाहपुरलाई चाँडैनै स्मार्ट सिटी बनाउन आफु लागिपरेकाले चन्द्रपुरवासीको साथ र सहयोग अत्यावश्यक रहेको जिकीर गर्नुभयो । सो कार्यक्रममा सहरी विकास मन्त्रालयका प्रतिनिधी, स्थानीय, वुद्धिजीवी, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।

मन्त्रीलाई कालोझण्डा

रौतहटको चन्द्रनिगाहपुरमा सहरी विकास मन्त्री प्रभु साहलाई माधव–प्रचण्ड समुहले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमृत श्रेष्ठ रहेका छन् । मन्त्री साहलाई कालो झण्डा देखाउने क्रममा नेकपा केपी ओली समर्थक र माधव–प्रचण्ड समुह बीचमा ढुंगा हानाहान भएको थियो ।

पक्राउ परेका आफ्ना कार्यकर्तालाई छोड्नुपर्ने माग गर्दै माधव–प्रचण्ड समुहले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । दुबै पक्षबीच झडप भएपछि चन्द्रनिगाहपुरको स्थिति केही बेर तनावग्रस्त बनेको थियो । पक्राउ परेका श्रेष्ठ लाई छाड्ने सहमति भएपछि आन्दोलन शान्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV