२७ पुष २०७७, सोमबार
  • अमर काफ्ले

इनरुवा , २७ पुष । कोशीमा ११ बर्ष अघि विनाशकारी बाढीका कारण बालुवामा परिणत भएको क्षेत्र क्रमशः जुर्मुराउँदै छ । बिकास निर्माणका कार्यले तीव्रता पाएको छ । चुनौतीलाई अवसरमा बदल्दै स्थानीय तह अघि बढ्दा गाउँको मुहार मात्र फेरिएको छैन् ।

नयाँ आशा र दीर्घगामी विकासका खाका कोरिन थालेको छ । २०६५ सालको कोशी नदीको बाढीको चपेटामा परेको सुनसरीको कोशी गाउँपालिका स्थानीय तहमार्फत सञ्चालित योजनासंगैको विकास निर्माणले तङग्रिन थालेको छ ।

जहाँ सिजन अनुसारको फसल उब्जाउ हुन थालेको छ । पिछडिएको भेग मानिने सुनसरीको कोशी क्षेत्रका वडाहरु समुन्नत बन्दै गएको प्रष्टसंग देख्न सकिन्छ । स्वास्थ्य र शिक्षा जस्ता सूचक क्रमशः सुधारोन्मूख छन् ।

त्यसका अलावा सहज र सुलभ स्वास्थ्योपचारको मामिलामा गाउँपालिकाले निक्कै फड्को मारेको छ । बाटो नै नभएका भेगमा बाटो बनाएर कतै ग्राभेल गरिएको छ त कालोपत्रे तथा आरसीसी ढलान भएका छन् । अन्धकारमा रात बिताउँदै आएका सर्वसाधारणले लामो समयको अन्तराल पछि बिजुली वत्तिको पनि उपभोग गर्न पाएका छन् ।

गाउँपालिकाले प्राथमिकताका आधारमा सबै क्षेत्र र वडाको बिकास निर्माण केन्द्रित योजनाहरु संचालनमा ल्याएको छ । त्यस्ता कार्यक्रमले गाउँपालिकामा क्रमशः सकारात्मक उपलब्धि देखा पर्न थालेका छन् ।

८ वटा वडा रहेको यस गाउँपालिकामा यतिबेला गौरवका योजनाहरु समेत संचालित छन् । प्रदेश १ सरकारले कोशी कटान क्षेत्रमा रिफ्रेस्मेन्ट सेन्टर निर्माण थालेको छ । क्षेत्रीय आर्यूवेद अस्पतालको साथै सिटी हल समेत निर्माणको चरणमा छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय समेत स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भएकाले पर्यटन, प्रवद्र्धन लक्षित गरी संचालित कार्यक्रम समेत प्रभावकारी देखिएका छन् ।

हात्ती पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्नु गाउँपालिको लागि प्रमुख चुनौती बनेको छ । त्यसका अलावा गाउँपालिका बाहिरी स्रोत जुटाउन समेत प्रयासरत छ । कोशीको बालुवा क्षेत्रमा ठूला उद्योग खुल्ने क्रम सुरु भएको छ ।

गाउँपालिकाले उपलब्ध स्रोत साधनको भरपूर उपभोग गर्दै स्थानीय तहमै रोजगारीका अवसर सृजना गरी छाड्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV