२७ पुष २०७७, सोमबार
  • भगतराम थारु

नेपालगन्ज, २७ पुष । पछिल्लो समय दैनिकजसो दर्जन बढी म्युजिक भिडियोहरु बजारमा रिलिज हुने गर्छन् । रिलिज भएका सिमित म्युजिक भिडियोहरुले मात्रै व्यवसायिक अनि अन्य हिसावले सफलता पाएका छन् । भने अधिकांश म्युजिक भिडियोले नाफा त के लगानी समेत सुरक्षित गर्न सकेका छैनन् ।

यसैबीच, प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिइरहेका गायक योगेन्द्र गौतमले पनि एउटा नयाँ गीत बजारमा ल्याएका छन् । हाल अमेरिकामा बस्दै आएका गौतम व्यवसायिक सफलता भन्दा पनि आफ्नो सन्तुष्टिका लागि गीत गाउने गरेको बताउँछन् ।

केही दिन अघि मात्रै रिलिज भएको गौतमको ‘आउँछौ र फेरि’ बोलको गीत यतिबेला बजारमा आएको छ । संख्यात्मक भन्दा पनि गुणात्मक गीत गाउन रुचाउने गौतमको यो गीतलाई दर्शक स्रोताले रुचाउँदै गएका छन् ।

गीतमा गौतमसंगै लोकप्रिय गायिका देवी घर्तीमगरको सुमधुर आवाज रहेको छ । गीतमा सर्जक सुरज गैह्रे ’विवस’को शब्द रहेको छ । त्यस्तै पछिल्लो समय युवापुस्ताका लोकप्रिय गायक तथा सर्जक अर्जुन सापकोटाको संगीत गीतमा सुन्न सकिन्छ ।

एक प्रेम जोडीको कथालाई सुरजले सरल शब्दहरु मार्फत गीतमा उतारेका छन् । सुरज पनि संख्यात्मक भन्दा गुणात्मक सृजनामा ध्यान दिने सर्जकमा पर्छन् । गीतको लय सरल अनि जस्ले पनि सजिलै गुनगुनाउन सक्ने बनाएका छन् अर्जुनले । गीतमा देवीका अलवा अर्जुनको गायिकी मीठो सुनिएको छ ।

गीतको अडियो पक्ष जति सशक्त अनि उत्कृष्ट छ । भिडियो पनि त्यतिनै आकर्षक एवम् उत्कृष्ट बनाइएको छ । भिडियो निर्माणमा योगेन्द्रले आर्थिक पाटोबाट कमी नराखेको स्पष्ट हुनेगर्छ । भिडियोमा लोकप्रिय मोडल गीता ढुंगाना र अर्जुन सापकोटा स्वयं फिचर्ड छन् ।

गीता र अर्जुनको केमिस्ट्री भिडियोमा गजब देखिएको छ । गीतको भाव अनुसार भिडियो कलात्मक शैलीमा निर्माण गरिएको छ । भिडियोमा गीता र अर्जुनलाई जोडीको रुपमा देख्न सकिन्छ । काजिश श्रेष्ठले भिडियोको परिकल्पना एवम् निर्देशन गरेका हुन् ।

आकर्षक फ्रेम अनि लोकेशनमा खिचिएको भिडियोका सिनेम्याटोग्राफर राजेश घिमिरे हुन् । भिडियोलाई सम्पादन अनि कलरिङ गर्ने काम दिपक विष्टले गरेका छन् । भिडियो आयंश क्रियसनको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो ।

यसभन्दा अघि लोकप्रिय बनेको ‘खोलीमा पानी’ बोलको गीत बजारमा ल्याइसकेका योगेन्द्रको आउछ्यौ र  फेरिलाई दर्शक स्रोताले कत्तिको रुचाउने हुन् त्यो त केही दिन कुर्नुपर्ने नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV