२७ पुष २०७७, सोमबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २७ पुष । आमा मायादेवी सुत्केरी मार्गको विकास गर्न युनेस्कोसहितका अन्तर्राष्ट्रिय निकायले चासो देखाएका छन् ।

हालै युनेश्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमश स्क्ररोमले मायादेवी सुत्केरी मार्गमा साईकल यात्रा पूरा गरेपछि यस्को विकासमा युनेश्कोले यस्तो चासो देखाएको हो । लुम्बिनी र कपिलवस्तुको पर्यटन विकासका लागि नयाँ पर्यटकीय गन्तब्यकारुपमा अघि सारिएको मायादेवी सुत्केरी मार्गको बाटो पहिल्याउदै साईकल यात्रामार्फत उनीहरु तिरौराकोट पुगेका थिए ।

म्यानहर्ट र स्क्ररोम बुद्ध जन्मस्थल लुम्बिनीबाट पडरिया हुदै मनौरी, सिवलवा, विजुवा, सिसहनिया, दोहनी, निग्लिहवा हुदै शाक्य वंशीय राजधानी तिलौराकोट पुगेका थिए । उनीहरुले ४ घण्टामा करिब ३६ किमी बाटो साईकल यात्रा तय गरेका थिए । विश्व बैंकले मायादेवी सुत्केरी भएर पहिलो पटक दरबार फर्केको बाटोलाई मायादेवी ट्रेलका रुपमा विकास गर्ने रुचि देखाएपछि अध्ययन र अनुभव गर्न आएको युनेश्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहटले बताए । अबको बिकास बारे छलफल थालिने उनको भनाइ छ ।

सुत्केरी मार्गलाई पर्यटन प्रडक्ट बनाउने अवधारणाको परिकल्पना लुम्बिनी विकास कोषका सद्भावना राजदूत विक्रम पाँडे काजीले ल्याएका हुन् । मायादेवी सुत्केरी भई शिशु वालकलाई लिएर राजमहल फर्केको बाटो हेर्न बिश्वका १ सय करोड बढि बौद्धमार्गी मध्ये ५० लाख बढि महिला बौद्धमार्गी सो मार्गमा आउने बातावरण बन्ने मार्गका परिकल्पनाकार विक्रम पाँडे काजी बताउछन् । युनेश्कोको चासो र बिश्व बैङ्कको लगानीले सो क्षेत्रमा ठूलो आर्थिक क्रान्ति हुने उनको विश्वास छ ।

मायादेवी राजधानी घर फर्केको बाटो भने लामो अध्ययन गरेर बुद्धस्थलका अध्येता वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले पत्ता लगाएका थिए । राजकुमार सिद्धार्थ लुम्बिनीको पिपल वृक्षमुनि जन्मेपछि गाउँको बाटो हुदै राजदरवार तिलौराकोट भित्रयाईएको थियो । एउटै खाले पर्यटन पूर्वाधार रहेको अवस्थामा यो शैलीको विकासले त्यसमा विविधता थप्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV