२७ पुष २०७७, सोमबार

काठमाडौं, २७ पुस । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ औं वर्ष मनाउने क्रममा मंगलबार (पुस २८) गते १७ औं पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको हो ।
मञ्च २०५२ साल भदौ २५ गते स्थापना भएको थियो । कोरोनाका कारण मञ्चले आफ्नो रजत वर्षलाई थप कार्यक्रम गरेर मनाउन पाएन ।

खेलकुद पत्रकारितालाई व्यावसायिक र संगठित रूपमा अघि बढाउने उद्देश्यले स्थापित मञ्चले धेरै आरोह र अवरोध पार गर्दै आएको छ । खेलकुद पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्न मञ्चले आफ्नो स्थापनाकालदेखि नै अवार्ड कार्यक्रम सुरुवात गरेको थियो । सुरुवातका केही वर्ष आयोजना गरे पनि यसले नियमितता पाउन सकेको थिएन ।

२०६० सालमा नयाँ नेतृत्व आएसँगै अवार्ड कार्यक्रमले निरन्तरता पाएको थियो । तर विनाशकारी भूकम्पका कारण वर्ष २०७२ मा अवार्ड कार्यक्रम आयोजना हुन सकेन ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण यस वर्ष पनि सहज ढंगले अवार्ड आयोजना गर्नसक्ने अवस्था भएन । यस कठिन अवस्थामा पनि साथ दिने प्रायोजक, सह–प्रायोजकप्रति मञ्च परिवार हार्दिक आभार प्रकट गरेको छ ।

अवार्डको विभिन्न चार वटा राष्ट्रिय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको यूटुब र फेसबुक पेजसहित विभिन्न सञ्चार माध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिनेछ ।

यस वर्ष समेत पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने जनाइएको छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV