२७ पुष २०७७, सोमबार
  • महेश्वर के.सी.

काठमाडौं, २७ पुष । काठमाडौंमा २९८औं पृथ्वी जयन्तीका साथै राष्ट्र एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंमा सोमबार विभिन्‍न संघ-संस्था तथा व्यक्तिले पृथ्वीनारायणको योगदानको स्मरण, झाँकी, र्‍याली, तस्बिर तथा सालिकमा माल्यार्पण, प्रवचनलगायत कार्यक्रम आयोजना गरी मनाएका छन् ।

यसैबीच मातृभूमिका लागि नेपालीको उपत्यका समन्वय समितिले पनि आज राजधानीमा र्‍यालीको आयोजना गर्दै नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहलाई सम्झिएको छ । समितिले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नहरे,  उचाइ हाम्राे चुलिन्छ कहाँ हिमालै नरहे’ प्ले कार्डसहित र्‍याली निकालेका थिए ।

र्‍यालीमा ‘हिमाल पहाड तराई कोही छैन पराई, मेरो सानो दुखले अर्जेको मुलुक चेतना भया, राष्ट्रि एकता दिवस अमर रहोस्,  श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहा अमर रहुन्’ लेखिएकाे ‘ प्ले कार्ड प्रर्दशन गरिएकाे थियाे ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।

   

प्रतिक्रिया दिनुहोस्

LIVE TV