कविता : राष्ट्रनिर्माता



प्रकाशित मिति : Jan 11, 2021

  • लक्ष्मी मिश्र

धागो छिनेको पोतेजस्तो
भूगोलभरि टुक्रा–टुक्रा राज्य
न सग्लो अस्तित्व थियो
न सौम्य सुन्दरता ।

समयको त्यही कालखण्डमा
उदय भो पृथ्वीको
जसको दूरदर्शिता र पराक्रमले
आज सग्लो नेपाल छ ।

साना–साना भोर्लाका पातहरू गाँसेर
एक पवित्र टपरी बनाएझैँ
देशको नक्सा तन्काउने
एकताका सूत्रधार
हे ! राष्ट्रनिर्माता,
तिम्रो वीरताको नासो
यस मुलुकमा
रोपिन दिन्नँ म विभाजनको बीउ
उम्रिन दिन्नँ कुविचारका काँडा !

डाँफेको सौन्दर्य झल्किने छानाहरुमा
नपरोस् वैरीको नजर
कस्तुरीको सुगन्ध डुल्ने पाखाहरूमा
नधुवाँओस् अतिवादको बारुद !
लहलह सुन फल्ने फाँटहरुमा
नरेटियोस् अस्तित्वको घाँटी !

पूर्व–पश्चिम लहरै फुलेका
बहुरंगी फूलहरुको यो सुन्दर बगैँचा
सधैँ–सधैँ फुलिरहोस् सम्झेर तिम्रै पौरख
चन्द्र–सूर्यझैँ बाँचिरहोस्
विश्व मानचित्रमा अटल ।
–०–


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com