२६ पुष २०७७, आईतवार

काठमाडौं, २६ पुष । निर्वाचन वा संसद पुनस्र्थापना केमा जाने भन्ने विषयमा कांग्रेसका शीर्षनेताहरुबीच एउटै मञ्चमा फरक मत देखिएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास वुढानिलकण्ठमा सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन कार्यक्रममा शीर्षनेताहरुले फरक–फरक मत राखे ।

सभापति देउवाले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा अहिले नै केही नबोल्ने बताउनुभयो ।

उहाँले राजनीतिकरुपमा प्रतिनिधिसभा विघटनका बारे कांग्रेसले विरोध जनाएपनि निर्वाचनमा जानबाट नडराएको उल्लेख गर्नुभयो ।

उहाँले देशभरबाट कार्यकर्ताहरुले निर्वाचनमै जानुपर्ने सुझाव दिएको पनि उल्लेख गर्नुभयो । कांग्रेसले के गर्ने भन्ने निर्णय सर्वोच्चको फैसलापछि मात्र तय गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यही मञ्चमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र्र्र पौडेलले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै यसको विरोधमा कांग्रेस सदैव रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले संविधान नै भत्काउने गरी गरिएको निर्वाचन घोषणा नै गलत भएको टिप्पणी गर्नुभयो । नेता पौडेलले प्रधानमन्त्रीले अदालतलाई प्रभाव पार्ने गरी भाषण गरेको भन्दै विरोध समेत जनाउनुभयो ।

यस्तै कार्यक्रममा पृथ्वी जयन्ती मनाउने विषयमा पनि नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । त्यसक्रममा सभापति देउवाले राष्ट्रिय एकीकरणको विरोध हुनु आफैंमा गलत भएको टिप्पणी गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV