२६ पुष २०७७, आईतवार
  • सुरेश श्रेष्ठ दाङ

तुलसीपुर, २६ पुष । तुलसीपुरका विभिन्न होटलबाट श्रमका लागि ल्याइएका तीन बालकको उद्धार गरिएको छ । तुलसीपुरको लालीगुँरास होटल, अन्जु स्विट हावस र निशान मकालु रेष्टुरेन्टमा काम गरिरहेका तीन जना बालकलाई उद्धार गरिएको हो ।

तुलसीपुरलाई बालश्रममुक्त सहरका रुपमा विकास गर्ने उद्देश्यका साथ होटलहरुमा खोजि अभियान थालिएको छ । आइतबार तुुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको अगुवाईमा प्रहरी, जनप्रतिनिधि, बालसंजाल र पत्रकारको सहभागितामा तीन बालकको उद्धार गरिएको हो ।

श्रममा लागेका तुलसीपुर–७ घुसरीका दुई जना र एक जना पाल्पाका बालकलाई उद्धार गरीएको हो । श्रममा लगाउने तीन जना होटल संचालकलाई प्रहरीले सोधपुछ गरी छोडेको छ । लालीगुँरास होटलका मोतिलाल पोखरेल, निशान मकालु रेष्टुरेण्टका नारायण कार्की र अन्जु स्विट हावसका कृष्णबहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर लगेर सोधपुछ गरि छोडिएको छ ।

‘सोमबार बालकका अभिभावकसहित कार्यालयमा उपस्थित हुन भनेका छौँ, फेरी बालकलाई श्रममा लगाएको पाइए कानुन अनुसार कारवाही गछौँ’ शाखा प्रमुख श्रेष्ठले बताइन् ।

तीन जना बालकलाई सोमबारमात्रै अभिभावकलाई सचेतना प्रदान गरि जिम्मा लगाउने शाखा प्रमुख श्रेष्ठले बताइन् । श्रममा लगाउने होटल संचालकलाई अब बालबालिकालाई श्रममा नलगाउने प्रतिवद्धतासहित छोटिएको उनले बताइन् ।

तुलसीपुरका होटल तथा विभिन्न पसलमा बालबालिका श्रममा लागेको पाइएको हुँदा ति बालबालिकालाई उद्धार गरि परिवारको जिम्मा लगाउने उनको भनाई छ ।

‘परिवारलाई सचेतना दिँदै श्रममा लागेका बालबालिकालाई जिम्मा लगाउछौँ, उनले भनिन्–‘ यदि अटेर गरेमा अभिभावकलाई पनि कानुनको दायरामा ल्याउछौँ ।’

नेपालको कानुनले १८ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउनु गैरकानुनी भनी परिभाषित गरेको छ । त्यस्ता बालबालिकालाई ललाइफकाइ काममा लगाए वा काममा लगाउनेलाई एक वर्ष कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV