२६ पुष २०७७, आईतवार
  • प्रकाश न्यौपाने,

रुपन्देही, २६ पुष । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधानमै त्रुटि भएका कारण त्यसका धाराहरु प्रयोगमा ल्याउँदा सधै विवाद हुने गरेको बताउनुभएको छ ।

आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले संविधानमा कस्तो त्रुटि छ भन्नेबारे नखुलाए पनि संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका संविधानका धारा विवादास्पद भएको दावी गर्नुभयो ।

उहाँले संविधान अपूरो भयो भनेर आफूहरुले पहिल्यैदेखि भन्दै आएको र संविधान बनाउने सत्ताधारीहरुले नै अहिले संविधानमाथि विवाद निकालेको जनाउनुभयो ।

उहाँले प्रदेशहरुमा धमाधम अविश्वासको प्रस्ताव आइरहेको र प्रधानमन्त्रीले प्रदेश पनि विघटन नगर्लान भनेर भन्न नसकिने बताउनुभयो ।

अध्यक्ष ठाकुरले संसद विघटन असंवैधानिक भएको जनाउँदै त्यसविरुद्ध पार्टीले आन्दोलन गरिरहेको र आउने दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

ठाकुरले संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला आफूहरुलाई मान्य हुने बताउनुभयो । यदि सर्वोच्चले संसद पुनस्र्थापना नगरेमा आफूहरु निर्वाचनमा जान तयार रहेको उहाँको भनाई छ ।

ठाकुरले जनअभिमतबाट निर्वाचित रेशम चौधरी लगायत जेलमा रहेका २५ बढी नेताकार्यकर्ताको रिहाई गर्न सरकारलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV