२६ पुष २०७७, आईतवार

एजेन्सी, २६ पुष । स्पेनिस ला लिगामा रियल म्याड्रिड १९ औं स्थानको ओसासुनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा ओसासुनाले रियल म्याड्रिडलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।

स्ट्रोम फिलोमेना नामक आँधीका कारण खेल हुने र नहुने दुविधा बढेको भए पनि खेल सम्पन्न भएको छ । यो आँधी स्पेनमा ५० वर्षयताको ठूलो भएको बीबीसीले जनाएको छ।

रियल र ओसासुना दुवै गाेल गर्ने केही सुवर्ण अवसर पाए पनि गाेल गर्न सकेनन् । रियलले ७० प्रतिशत बल पोसेसन राखेपनि गाेल गर्न भने सकेन ।

ओसासुनाले खेलको १६औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर पाए पनि गाेल गर्न सकेन र  ३०औं मिनेटमा ओइरको हेडरलाई म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे ।

९०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्ने सुवर्ण अवसर खेर फाल्दा रियल जितबाट बञ्चित बन्यो । ७० प्रतिशत बल पोसेसन राखेपनि रियलले ओसासुनाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीले रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको खेल अत्याधिक हिमपातका कारण स्थगित हुँदा रियललाई शीर्षस्थानमा उक्लने अवसर थियो । तर रियलले त्यो अवसररलाई सदुपयोग गर्न सकेन ।

रियलको १८ खेलबाट ३७ अंक छ । १५ खेलबाट एट्लेटिकोको ३८ अंक छ । ओसासुना १५ अंक जोडेर १९औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV