२५ पुष २०७७, शनिबार
  • शिव डुम्रे,

रुपन्देही, २५ पुष । लामो समयदेखिको विवादको कारण विस्तार हुन नसकेको बुटवलको चौराहादेखी गोलपार्कसम्मको सडक विस्तार विहीबार सर्वाेच्च अदालतले मार्ग प्रशस्त गरेसँगै बाटो विस्तार गर्ने कार्यमा रहेको अवरोध हटेको छ ।

सिद्धार्थ राजमार्गको बुटवल बेलहिया ६ लेनको सडक निर्माण गर्ने गरी सर्बोच्च अदालतले असार ३ मा आफैले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेपछि बेलहिया बुटवल ब्यापारिक मार्ग बिस्तार आयोजना मणिग्रामलाई बाटो खुला भएको हो ।

करिव डेढ बर्ष अघि तुलसीपुर उच्च अदालतको बुटवल ईजलासले पछिल्लो पटक जग्गाधनीहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत कानूनी प्रकृया पुर्याएर मुआव्जा दिएपछि मात्र सडक बिस्तार कार्य गर्नु भन्ने आदेश संगै बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको सडक बिस्तार अवरुद्ध भएको थियो ।

अदालतको आदेश अनुसार निवेदकहरुका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदक मध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरुले आफ्नो प्रमाण पेश गर्न नसकेपछि २४ जना सर्बोच्च अदालत पुगेका थिए ।

सर्वाेच्च अदालतले अन्तरिम आदेश खारेज गरेलगत्तै बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म सडक सीमा मिचेर निर्माण गरिएका घर टहरा तथा संरचना खालि गर्न २४ घण्टे सूचना जारी गरेको छ ।

सर्बाेच्चले पुष २० गते उक्त आदेश गरे संगै लामो समयदेखि अवरुद्ध भएको बुटवलको सडक बिस्तारले गति लिने अनुमान गरिएको छ ।

घरधनीलाई जानकारी हुनेगरी पटकपटक घरहरु खाली गर्न माईकिङ्ग, सार्वजनिक सुचना जारी गरेपनि अटेरी गर्दै आएका घरधनीहरु सर्वाेच्चको आदेश आएसँगै घर भत्काउन व्यस्त देखिन्थे ।

उच्च अदालतले आफ्नो पक्षमा निर्णय गरेपनी सर्वाेच्चले विपक्षमा निर्णय गरेकोप्रति भने घरधनीहरु खुसी देखिदैनन् । आफूहरुले निर्माणगर्दा मापदण्डभित्र रहेर काम गरेको भएपनि सरकारले कुनै मुआब्जाको व्यवस्थापन नगरेको भन्दै उनीहरुले निर्णयप्रति गुनासो व्यक्त गरेका छन् ।

उक्त सडक खण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सीमा मिचेकोमा २ सय जना भन्दा बढीले यस अघिनै घर भत्काई सडक खालि गरी दिएका छन ।

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको क्षेत्रमा बाटो विस्तार नहुँदा अव्यवस्थित पार्किङ, सडक जाम, ट्राफिकिङको कारण अत्याधिक दुर्घटना र जामको समस्यामा सडक प्रयोगकर्ताहरु पर्दै आएका थिए । तर अव भने सडक विस्तार हुने भएपछि सडक प्रयोगकर्ताहरु खुसी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV